थप बजेटका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री काठमाडौँमा

कास्की । आर्थिक सहायता माग्न गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल काठमाडौँ पुग्नु भएको छ । अघिल्लो सरकारले सिर्जना गरेको दायित्वका कारण प्रदेश भित्रका विकासे आयोजना अलपत्र पर्ने भएपछि गण्डकी प्रदेश सरकारले सङ्घ सरकारलाई घचघच्याएको हो ।
पूर्वाधार, खानेपानी समेत गरी झण्डै १६ अर्बका बहुवर्षे योजना ठेक्कामा अघिल्लो सरकारले लगाएका कारण मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले नयाँ योजना ल्याउन सक्ने अवस्था नै थिएन । नेकपा एमालेको सरकार ढल्नुभन्दा केही अघिसमेत गण्डकीमा बहुवर्षे योजनाहरू ठेक्का लगाइएको थियो ।
बहुवर्षे योजनाको १६ अर्बमध्ये चालु आवका लागि ५ अर्बमात्र विनियोजन भएको छ । रकम अभावकै कारण गण्डकीको वर्तमान सरकारले सालबसाली योजना कटौती गरिएको छ । जसलाई एमालेले मुख्य मुद्दा बनाएको छ । रकम अभावकै कारण पोहोर सकिएका योजनाको भुक्तानी दिन सक्ने अवस्था नभएकाले प्रधानमन्त्री शेरबहादुर देउवासहित अर्थ मन्त्रीलाई भेट्न गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्का, अर्थमन्त्री रामजीप्रसाद बराल जीवनसहितको टोली अहिले काठमाडौँमा आएको हो ।
गत आवहरूमा काम भई अपूरा भएका तर बजेट अभावको कारण चालु आर्थिक वर्षमा बजेट विनियोजन गर्न नसकिएका आयोजना ५ सय १७ आयोजना कटौतीमा परेका छन् । अघिल्लो सरकारले ३८ अर्बको बजेट प्रस्ताव गरेकामा वर्तमान सरकारले त्यसमा ८ अर्ब कटौती गरी ३० अर्बको बजेट ल्याएको थियो ।
गण्डकीको टोलीले आइतबार प्रधानमन्त्री देउवालाई भेटेर प्रदेशको अवस्थाको बारेमा जानकारी गराएको छ । बजेट अभावले चालु आयोजना अगाडि बढ्न नसकेको, प्रदेश गौरवका आयोजना सुरु गर्न जग्गाका साथमा रकम अभाव रहेको जानकारी मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री देउवालाई जानकारी गराउनु भएको छ ।
प्रधानमन्त्री देउवाले सीमित स्रोत र साधनका बीच सरकार अगाडि बढिरहेको भन्दै प्रदेशको समृद्धिका लागि सक्दो सहयोग गर्ने वचन दिनु भएको छ । उहाँले भन्नुभयो , ‘सबै प्रदेशहरूबाट बजेटको माग आएको छ, स्रोत हेरेर सक्दो बजेट दिनेबारेमा अर्थमन्त्रीसँग परामर्श गरेको बताउनु भयो ।
मुख्यमन्त्री पोखरेलले नेपाल सरकारले प्रदान गर्ने बजेट नै प्रदेशको मुख्य श्रोत रहेको भन्दै वित्तीय समानीकरण अनुदान लगायतका विभिन्न अनुदान, राजश्व बाँडफाँटबाट प्राप्त रकम, रोयल्टी आदि शीर्षकमा प्राप्त रकम र प्रदेश सरकारको आन्तरिक श्रोतबाट प्रदेशले संविधान प्रदत्त जिम्मेवारी पूरा गर्दै आएको बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्