वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै मनग्य आम्दानी गर्दै खरेल

काठमाडौँ । दुई पटक वैदेशिक रोजगारीमै हुँदाको अनुभव सँगाल्नुभएका झापाका मदन खरेल अहिले स्वदेशमै मासिक सवा लाखको आम्दानी गर्दै हुनुहुन्छ । पारिवारिक पुरानो व्यवसाय हुँदाहुँदै आफ्नो रुचिअनुसार नयाँ व्यवसायमा लगानी र मेहनत गरेर सन्तुष्ट रहनुभएका झापा पाटागाडाका खरेलले इटहरीमा गर्नुभएको साइनबोर्ड बनाउने व्यवसाय मनग्गे चलिरहेको छ । कम्प्युटर डिजाइन गरेर ब्रास लेटर थ्री डी, टुडी अक्षर कुदिने र मागअनुसार तयार गरिने यो व्यवसायलाई साइनेज भनेर बजारमा चिनिने कुरा खरेल बताउनुहुन्छ ।
१५ वर्षअघि वैदेशिक रोजगारमा दुबई पुग्नुभएका खरेल अर्को पल्ट रोजगारीको सिलसिलामा कतार पुग्नुभयो । १० वर्षअघि स्वदेश फर्कनुभएका खरेल भारतको दिल्ली पुग्दा अक्षर कुँदी साइनबोर्ड बनाउने आधुनिक विधि देखेर आकर्षित भएको र त्यसपछि नेपालको बजारमा यसको माग बुझी तत्कालै मेसिन खरिद गरी फर्केको बताउनुहुन्छ ।
यो नयाँ व्यवसायको प्राविधिक पक्षको ज्ञान चाहिँ कसरी प्राप्त गर्नुभयो त भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ – “आधारभूत ज्ञान त केही दिन दिल्लीमा बसेरै लिएको थिए तर यहाँ काम गर्दै जाँदा त्यो पर्याप्त भएन र उतैबाट इन्जिनियर मगाइयो एक हप्ताका लागि र त्यसपछि कोलकता पुगेर अलि सूक्ष्म रुपमा यस सम्बन्धी सीप प्राप्त गरे तर पछि पनि कोतकलाबाटै प्राविधिक ल्याएर ४ महिना जति राखे । झन्डै ६ महिना जति आफू घाटामै रहेर व्यवसाय चलाएँ । अहिले हामी सबै आफै गर्छौ, ठिक भएको छ अहिले ।”

कम्प्युटरमा डिजाइन गर्नेदेखि लिएर मेसिनमा काम गर्ने र अर्डर भए अनुसारका ठाउँमा साइनबोर्ड लगाउनुपर्ने सम्मका विभिन्न सिप भएका ८ जनालाई भ्याइन भ्याइ छ खरेलको एम.के.एडभर्टाइज नेपालमा । यो व्यवसायमा सुरुवातको लगानी र अहिलेको अवस्था कस्तो छ त भन्ने अर्को प्रश्नको जवाफमा उहाँ भन्नुहुन्छ – “२० लाख जतिको लगानीमा सुरु गरेको हो । थोरै लगानीबाटै गर्न सकिने काम हो भनेर । अहिले ५० लाख जतिको लगानी छ यहाँ इलेक्ट्रिसीयन, डिजाइनर बेल्टरलगायत बोर्डलाई भनिएको ठाउँमा लगाउने टिम हुन्छ । उपकरणसहित लगेर बोर्ड फिट गर्ने गरिन्छ ।”
रुचिपूर्वक थालिएको काममा उहाँ सन्तुष्ट हुनुहुन्छ र ऊर्जाका साथ काम गरिरहनुहुन्छ उहाँ । तर, ५० लाख जतिको लगानी भएको व्यवसायमा आम्दानी चाहिँ अहिले कस्तो छ त ? उहाँ भन्नुहुन्छ – “त्यस्तो धेरै त होइन किनभने धेरै नाफा लिनेभन्दा पनि भएका स्टाफहरूलाई श्रम अनुसारको पारिश्रमिक प्रदान गर्ने र काम प्रशस्त दिन सकिएको छ । स्टाफहरूलाई सन्तुष्ट गरेर सवा लाखसम्म मासिक बचाउन सकेको स्थिति छ र माग बढिराखेको छ साथै लगानी थप्दै जाने काम पनि भइरहेको छ ।”

वैदेशिक रोजगारमा पसिना बगाउँदै गर्दाको बेला सम्झँदै उहाँ भन्नुहुन्छ –“यसरी विदेशमै सधैँ भएर त दिगो जीविकोपार्जन त हुँदैन । पछिका लागि पनि केही व्यावसायिक स्रोत अहिलेदेखि जोड्दै लगियो भने स्वदेशमै गरिखान सहज हुन्छ भनेर यताको व्यवसायमा पनि लगानी थप्दै गएको थिए । अहिले राम्रो छ ।” यो व्यवसायमा आफू व्यस्त भए पनि पहिलेको रेडिमेड कपडाको व्यवसाय पनि चलिराखेकै छ । तर यो साइनेस सम्बन्धी व्यावसायिक र प्राविधिक र ज्ञान त्यो समयमै लिन पाएको भए योभन्दा धेरै राम्रो भइसकेको अवस्था हुन्थ्यो भन्ने खरेलको धारणा छ ।
५०/६० हजारकै लागि विदेश जानुपर्छ भन्ने त मलाई अहिले लाग्दैन
विदेशमा रोजगारीमा जाने खोज्नेहरूलाई स्वदेशमै केही लगानी गरेर व्यावसायिक बन्न खरेलको सुझाव छ–“५०, ६० हजारकै लागि विदेश जानुपर्छ भन्ने त मलाई अहिले लाग्दैन तर विदेशमा काम गर्दाकै जस्तो मेहनत र कामप्रति पुरै भिज्न चाहिँ सक्नुपर्छ । पाँच सात लाख, आठ दश लाख लगानी गरेर बजारमा माग भएको र आफ्नो पनि रुचि मिलेको व्यवसाय धैर्यपूर्वक गरियो भने ४०–५० हजारको प्रतिफल पक्कै पनि पाइन्छ यहाँ पनि । ”









प्रतिक्रिया राख्नुहोस्