तपाईँ सुन्दै हुनुहुन्छः

वीर अस्पतालमा आइसियु बेड र नेपाल प्रहरी अस्पतालमा सर्जिकल मास्क हस्तान्तरण

काठमाडौँ । निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पताललाई ३० वटा आइसियु बेड हस्तान्तरण गरेको छ । 

प्रतिष्ठानको तर्फबाट आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोख्रेलले वीर अस्पताललाई ३० वटा आइसियु बेड हस्तान्तरण गर्नु भएको हो । 

सोही क्रममा आजै उहाँहरूले नेपाल प्रहरी अस्पताल पानीपोखरीमा पनि ३० हजार सर्जिकल मास्क हस्तान्तरण गर्नु भयो ।

डा. विप्लवमणि पोखरेलको पहलकदमीमा निर्मल लामा स्मृति प्रतिष्ठान नेपालको संयोजनमा वीर अस्पतालमा ३० वटा आइसियु बेड र नेपाल प्रहरी अस्पताल पानीपोखरीमा ३० हजार थान सर्जिकल मास्क हस्तान्तरण गरिएको हो । 

डा. पोखरेलको पहल कदमीमा चिनियाँ सङ्घसंस्था र सहयोगी हातहरूका तर्फबाट प्राप्त १५० वटा आइसियु बेड सरकारसँग सहकार्य गरी सरकारी र सामुदायिक अस्पतालहरूमा वितरण गरिने मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

निर्मल लामा स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहनु भएको नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनु पर्नेमा जोड दिँदै पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आमजनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने बताउनुभयो । 

त्यस्तै वीर अस्पतालका प्रमुख डा. भूपेन्द्रकुमार बस्नेतले विभिन्न संस्थाहरूको सहयोगबाट नै कोरोना भाइरसको तेस्रो लहरमा उपचार गर्न  र अक्सिजन, भेन्टिलेटर र आइसियु बेड उपलब्ध गराउन सहज भइरहेको बताउनुभयो । 

नेपाल प्रहरी अस्पतालको प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले सर्वसाधारणलाई पनि गुणस्तरीय सेवा पुर्‍याउने अस्पतालको लक्ष्यमा यस्ता सहयोगले थप बल पुग्ने बताउनुभयो । 

डा. विप्लवमणि पोखरेलको पहलकदमीमा प्रतिष्ठानको तर्फबाट पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, भरतपुर अस्पताल चितवन, योगी नरहरी नाथ प्राकृतिक चिकित्सा अस्पताल, धुलिखेल अस्पताल, सामुदायिक अस्पताल ओखलढुङ्गा, पर्वत जिल्ला अस्पताल पर्वत, बागलुङ जिल्ला अस्पताल लगायतमा आइसियु बेड, सर्जिकल मास्क र बडी ब्याग वितरण गरिसकेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button