प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलको भेट

काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवासँग गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलले भेटेर प्रदेशको अवस्था बारेमा जानकारी गराएको छ ।
मुख्यमन्त्री पोखरेलले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा उहाँलाई भेटेर प्रदेशमा बजेट कमीले चालु आयोजना अगाडि बढ्न नसकेको, प्रदेश गौरवका आयोजना सुरु गर्न जग्गाका साथै रकम अभाव रहेको जानकारी गराउनुभएको थियो । भेटमा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्का, अर्थमन्त्री रामजीप्रसाद बराल, अर्का मन्त्री मणिभद्र शर्मा कँडेललगायत सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्री देउवाले सीमित स्रोत र साधनका बीच सरकार अगाडि बढिरहेको भन्दै प्रदेशको समृद्धिका लागि सक्दो सहयोग गर्ने वचन दिनुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । साथै उहाँले सबै प्रदेशबाट बजेटको माग आएको उल्लेख गर्दै स्रोत हेरेर सक्दो बजेट दिने बारेमा अर्थमन्त्रीसँग सल्लाह गर्ने बताउनुभएको थियो ।
मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीलाई बुझाएको पत्रमा आन्तरिक स्रोत अत्यन्त न्यून भएका कारण प्रदेशको विकास आवश्यकता पूरा गर्न कठिनाइ भएको, कोभिड– १९ को महामारीका कारण प्रदेशको आन्तरिक आयमा समेत कमी आएको र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमा समेत कटौती हुँदा कतिपय आयोजना स्रोतको कमीले सम्पन्न गर्न चुनौती थपिएको उल्लेख छ ।
यसैगरी मुख्यमन्त्री पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल, नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतसँग पनि भेट गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्