प्रदेश संसदीय समितिको सभापतिमा एमालेको मात्र उम्मेदवारी
मकवानपुर । बागमती प्रदेश सभाको सोमबार (भोलि) हुने दुई वटा समितिको सभापतिको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मात्र उम्मेदवारी दर्ता गराएको छ ।
प्रदेश सभाको भोलि हुने अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति निर्वाचनका लागि एमालेले मात्र उम्मेदवारी दर्ता गराएको हो ।

निर्वाचन कार्यतालिका अनुसार सभापति छनौटका लागि आइतबार साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने थियो । तोकिएको समयमा एमालेले मात्र उम्मेदवारी दर्ता गराएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
एमालेले अर्थ समिति सभापतिमा काठमाडौँका नारायणबहादुर सिलवाल र शिक्षा समितिमा काठमाडौँकै केशवप्रसाद पोखरेललाई उम्मेदवार बनाएको छ ।
गत वैशाखदेखि रिक्त रहेको अर्थ समितिमा २० जना सदस्यमध्ये एक जना सभापति चयन हुनेछ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एक जना सभापति चयन हुनेछ ।
अर्थ समितिका तत्कालीन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री वनेसँगै उक्त पद रिक्त रहेको थियो । शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा मन्त्री नियुक्त भएसँगै उक्त पद पनि रिक्त छ ।
प्रदेश सभाका सचिव कृष्णहरि खड्काका अनुसार उम्मेदवारको अन्तिम नामावली आजै प्रकाशन गर्ने तयारी भइरहेको छ ।
अर्थ समितिको सभापति पदको निर्वाचन सोमबार मध्यान्ह १२ बजेका लागि तय गरिएको छ ।
शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदको निर्वाचन सोमबार दिनको २ बजेका लागि तय गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्