तपाईँ सुन्दै हुनुहुन्छः

बाँसखर्कमा फरक क्षमता भएका नागरिकले बाख्रा पालनबाट आम्दानी लिन थाले

सिन्धुपाल्चोक  ।  पाँच पोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर १ बाँसखर्कका फरक क्षमता भएका व्यक्तिहरूले बाख्रा पालनबाट आम्दानी लिन थालेका छन् । 

गाउँपालिका र बाँसखर्क गरिबी निवारण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहयोगमा गत बर्ष समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम अन्तर्गत पुँजी नै अनुदान पाउने रकम मध्येबाट रु.दुई लाख ७० हजार रकमलाई वडा नं. १ मा रहेका फरक क्षमता भएका नागरिकहरूले आलोपालो मूल पुँजी परिचालन गर्ने गरी पहिलो पटकलाई सात जनामा बाख्रा पालनको लागि लगानी गरिएको थियो । 

एक वर्ष अवधिमा निर्ब्याजी रकम चलाउने र सो अवधिपछि उक्त रकम सहकारीमा फिर्ता गर्ने र फिर्ता भएको रकम सोही वडामा रहेका फरक क्षमता भएका नागरिकहरूको समितिको निर्णय बमोजिम तोकिएका अन्य फरक क्षमता भएका नागरिकलाई सहकारीले पुन रकम उपलब्ध गराउने सहमतिमा लगानी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार पोखरेलले बताउनुभयो । 

सो कार्यक्रमको अधिकृत पोखरेल, वडा अध्यक्ष सूर्यमान दोङ, सूचना प्रविधि अधिकृत , लघु उद्यम विकास शाखा प्रमुख, पशु विकास शाखा प्रमुख, सहकारीका अध्यक्ष वुद्धलाल श्रेष्ठ समेतले संयुक्त रुपमा अनुगमन गर्दा यसरी गरेको लगानीबाट सबैले १५/२० हजार आम्दानी गरिसकेको र लगानी फिर्ता गर्न सक्ने अवस्थामा सम्बन्धित व्यक्तिहरूमा रहेको पाइएको गाउँपालिकाले जनाएको छ । 

प्रमुख प्रशासकीय अधिकृत पोखरेलले अनुगमनको क्रममा प्रत्येक व्यक्तिको घर घरमा पुगेर ती परिवारले पालेको सबै बाख्राको एक हप्ताभित्र निःशुल्क बीमा गरिदिने र सो बमोजिमको आवश्यक कार्य गर्न सम्बन्धित शाखालाई निर्देशन समेत दिनुभएको छ ।

अनुगमनका क्रममा बाँसखर्कमा माहुरी पालन व्यवसायको पनि अनुगमन गरिएको छ  । उक्त वडालाई माहुरी पकेट क्षेत्रको रुपमा विकास गर्न व्यवसायीले चासो राखेकोमा गाउँपालिकामा यस विषयमा छिटै आवश्यक छलफल गर्ने वडा अध्यक्ष दोङले बताउनुभयो । 

यस क्रममा गत आवमा लघु उद्यमको लागि तालिम लिएका व्यक्तिहरूलाई व्यावसायिक किसिमले अघि बढाउन सकिने सम्भावित सहयोगको बारेमा पनि छलफल गरिएको थियो । 

अबको दुई महिनाभित्र विगत दुई आवदेखि पालिकाभित्र सञ्चालन भएका सबै किसिमका उत्पादनमूलक कार्यहरूको अनुगमन गर्ने र कार्यक्रमको प्रभावकारिताको लागि पालिकाले सकेको सबै किसिमको सहकार्य गर्ने अभियानमा गाउँपालिका जुटेको प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button