स्वास्थ्य क्षेत्रमा नर्सहरूको योगदान महत्त्वपूर्ण: प्रदेश मन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले स्वास्थ्य क्षेत्रमा नर्सहरूको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्नुहुँदै मन्त्री लामाले नर्सहरूको सेवाभाव र योगदानका कारण गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिक अधिकार सुनिश्चित बनेको उल्लेख गर्नुभएको छ ।
स्वास्थ्य क्षेत्रमा नर्सहरूको योगदानको प्रशंसा गर्नुहुँदै सन्देशमा उहाँले भन्नुभएको छ “कोभिड–१९ को महामारीविरुद्ध यहाँको दृढता, प्रतिबद्धता र इमानदारीका साथ अहोरात्र खटिई संक्रमण रोकथाम, नियन्त्रण एवं उपचार व्यवस्थापन गर्दै पहिलो र दोस्रो लहरको महामारीका साथै हाल देखिएको तेस्रो लहरमा देखाएको मानव स्वास्थ्यको उचित व्यवस्थापन प्रशंसनीय छ ।’
शुभकामना सन्देशमा उहाँले नर्सहरूको स्वास्थ्य सेवा समर्पणमा धैर्यता तथा स्वास्थ्योपचारको प्रगतिको लागि बिरामीको आत्मबल बढाउन दिने निरन्तरको हौसलाले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान रहने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय नर्सिङ दिवसमा अग्रज नर्सलाई सम्मान
यसैबिच राष्ट्रिय नर्सिङ दिवसको अवसरमा मकवानपुरका तीन जना अग्रज नर्सहरूलाई सम्मान गरिएको छ । मकवानपुर सहकारी अस्पतालले दिवसको अवसरमा आज एक कार्यक्रमका बिच मकवानपुरका अग्रज नर्सहरू बुनु शर्मा, चम्पा कोजु र धन राईलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।

सहकारी अस्पतालका अध्यक्ष विष्णु गोपाल महर्जनको अध्यक्षता तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीको प्रमुख आतिथ्यमा अग्रज नर्सलाई सम्मान गरिएको थियो ।
सोही अवसरमा सहकारी अस्पतालमा लामो समयदेखि कार्यरत शान्ति लामा र पुस महिनाको उत्कृष्ट कर्मचारी सोनु पौडेललाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईँ लगायतको सहभागिता थियो ।







प्रतिक्रिया राख्नुहोस्