तपाईँ सुन्दै हुनुहुन्छः

सुर्ती खेतीभित्र लगाइएको १६ कट्ठाको गाँजा प्रहरीद्वारा नष्ट

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ ओझैया प्रसौनी टोलमा सुर्ती खेतीभित्र लुकाई छिपाई लगाइएको १६ कट्ठाको गाँजा खेती पर्सा प्रहरीले फडानी गरेको छ । 

सुर्ती खेती भित्र प्रतिबन्धित गाँजा खेती फस्टाउँदै गएको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले गाँजा फडानी गरेको हो । 

पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापा नेतृत्वको टोलीले फडानी गरेको गाँजा स्थानीय सञ्चारकर्मी र समाजसेवीको रोहबरमा नष्ट गरिएको थियो । 

यसैगरी एक साता अघि पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ मा १५ कट्ठामा लगाइएको गाँजा खेती प्रहरी टोलीले नष्ट गरेको थियो । 

सुर्ती खेती भित्र गाँजा खेती गरिएको कारण सो सुर्ती खेती कसले गरेको हो भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button