तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा नागरिकता सम्बन्धी सेवामा बार प्रणाली लागु  

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिकता सम्बन्धी सेवामा स्थानीय तहगत रूपमा बार प्रणाली लागु गरेको छ । 

कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढ्दै गइरहेको र जिल्ला प्रशासन कार्यालयमा कार्यरत केही कर्मचारीहरूमा समेत सङ्क्रमण देखिएको हुँदा थप सङ्क्रमण फैलिन नदिन यही माघ ७ गतेदेखि अत्यावश्यक बाहेकका सबै सेवा प्रवाह स्थगन गरेको थियो । 

सङ्क्रमणको जोखिम अझै कायमै रहेकोले यही माघ १६ गतेदेखि नागरिकता सम्बन्धी सेवामा बार प्रणाली लागु गरिएको र अन्य सेवाहरू भने पूर्ववत् रूपमै सुचारु हुने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताउनुभयो । 

उहाँका अनुसार वेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका र पुनर्वास नगरपालिकाका बासिन्दालाई आइतबार र सोमबार नागरिकता सम्बन्धी सेवा दिइने छ । 

त्यस्तै, दोधाराचाँदनी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालिकाका बासिन्दालाई मङ्गलवार र बुधवार तथा भीमदत्त नगरपालिका, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाका बासिन्दालाई बिहीबार र शुक्रवार मात्रै नागरिकता सम्बन्धी सेवा प्रवाह गरिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button