तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा वन्यजन्तु पार्कविरुद्धको मुद्दा खारेज

पोखरा।कास्कीको मादी गाउँपालिकाको तप्राङमा प्रस्तावित वन्यजन्तु पार्कविरुद्धको मुद्दा खारेज भएको छ । वन्यजन्तु पार्क विरुद्धमा गाउँपालिकालाई विपक्षी बनाइ पेश भएको मुद्दा उच्च अदालत पोखराले खारेज गरेको हो ।

वन्यजन्तु पार्क विरुद्धमा सूर्यबहादुर आले मगर सहित ६ जनाले रिट निवेदन दिएका थिए । ‘निवेदन माग बमोजिमको आदेश जारी गर्नुपर्ने अवस्थाको विद्यमानता नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ भनी फैसला भएको बेहोरा सहित जानकारीमूलक पत्र मादी गाउँपालिकालाई अदालतले पठाएको छ । फैसलाको पूर्ण पाठ भने तयार भएपश्चात् पठाइने अदालतको भनाई छ ।

मादी गाउँपालिकाले १८ करोडको लागतमा तप्राङमा वन्यजन्तु पार्क निर्माणलाई गाउँपालिकाकै गौरवको योजनाका रुपमा अगाडी बढाएको थियो । त्यसका लागि डिपिआर, इआइएसमेत गरी योजना अघि बढेको थियो । उक्त पार्कको लागि गण्डकी प्रदेश सरकारसँग समपूरक अनुदान २ करोड रुपैयाँ माग गरिएको थियो । ‘२०७६/७६ मा २ करोड रुपैयाँ छुटाएर टेन्डरसमेत भई काम अघि बढ्दै गर्दा उच्च अदालतमा मुद्दा परेपछि काम रोकिएको थियो ।

‘अहिले मुद्दा खारेजको फैसला आएता पनि ढिलो आएको हुनाले वन्यजन्तु पार्क निर्माणमा बजेट अभाव हुने देखिएको गाउँपालिकाका अध्यक्ष वेद बहादुर गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाले तप्राङको प्राकृतिक वन, खर्क, खोलानाला लगायतको क्षेत्र समेटेर पार्क निर्माणको योजना बनाएको थियो । वन्यजन्तुको चोरी सिकारी रोक्ने, तिनको संरक्षण गर्ने र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने आफूहरूको योजना रहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button