मकवानपुरको प्रारम्भिक जनसङ्ख्या ४ लाख ६१ हजार

मकवानपुर । राष्ट्रिय जनगणना–२०७८को प्रारम्भिक नतिजा अनुसार मकवानपुरको जनसङ्ख्या ४ लाख ६१ हजार ५३ पुगेको छ ।
केन्द्रीय तथ्याङ्क विभागले बुधवार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको जनगणनाको नतिजाअनुसार मकवानपुरमा पुरुषको सङ्ख्या २ लाख २८ हजार ४ सय ७२ र महिलाको सङ्ख्या २ लाख ३२ हजार ५ सय ८१ रहेको छ ।
२०६८ सालको जनगणना अनुसार मकवानपुरको जनसङ्ख्या ४ लाख २० हजार ४ सय ७७ रहेकोमा हाल शून्य दशमलव ८८ प्रतिशतले वृद्धि भई ४ लाख ६१ हजार ५३ पुगेको जनाइएको छ ।
जनगणनाको प्रारम्भिक नतिजामा मकवानपुरमा घर सङ्ख्या ९६ हजार २ सय १४ र परिवार सङ्ख्या १ लाख ६ हजार ६ सय ६ रहेको उल्लेख छ ।
सार्वजनिक नतिजाअनुसार मकवानपुर जिल्लाको लैङ्गिक अनुपात ९८ दशमलव २३ हुँदा परिवारको औसत आकार ४ दशमलव ३२ र जनघनत्व १ दशमलव ९० रहेको छ ।
जनगणनामा १४ हजार ८ सय २० जना पुरुष र ४ हजार ७ सय २६ जना महिला गरी कुल १९ हजार ५ सय ४६ जना अनुपस्थित रहेको सार्वजनिक जनगणनाको नतिजामा छ ।
जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी जनसङ्ख्या हेटौँडा उपमहानगरपालिकामा र सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकामा रहेको छ । प्रारम्भिक नतिजाअनुसार हेटौँडाको कुल जनसङ्ख्या १ लाख ९५ हजार ९ सय ५१ र ईन्द्रसरोवर गाउँपालिकाको कुल जनसङ्ख्या १३ हजार ७ सय ५८ रहेको छ ।
यस्तै, स्थानीय तहमध्ये क्रमशः मनहरी गाउँपालिकाको जनसङ्ख्या ४७ हजार १ सय ४४, बकैया गाउँपालिकाको जनसङ्ख्या ४० हजार ६ सय ७१, थाहा नगरपालिकाको जनसङ्ख्या ३९ हजार १ सय ६३, बागमती गाउँपालिकाको ३० हजार ६ सय २५, राक्सिराङ गाउँपालिकाको २५ हजार ८ सय ७१, मकवानपुरगढी गाउँपालिकाको २४ हजार २ सय ५२, कैलाश गाउँपालिकाकाको २१ हजार ९ सय ९२ र भीम फेदी गाउँपालिकाको २१ हजार ६ सय २६ रहेको तथ्याङ्कमा उल्लेख छ ।
सार्वजनिक जनगणनाको नतिजा अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्