दुर्घटनामा परी एक जनाको मृत्यु, सात जना घाइते

कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ३ माइली बजारमा मोटरसाइकल र अटोरिक्सा एकापसमा ठोक्किँदा अटोरिक्सा चालकको ज्यान गएको छ भने सात जना घाइते भएका छन् ।
कञ्चनपुरको बेलौरीबाट कैलालीको धनगढीतर्फ सवार लु २ स ००८१ नम्बरको अटोरिक्सा र विपरीत दिशातर्फ सवार से १ प ७६४४ नम्बरको मोटरसाइकल बुधवार दिउँसो एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परी अटोरिक्सा चालक पुनर्वास नगरपालिका वडा नं. ८ क गाउँका ३५ वर्षीय राजेन्द्र सुनार (मिजार) को मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिनुभयो ।
सोही दुर्घटनामा परी मोटरसाइकल चालक पुनर्वास नगरपालिका वडा नं. १ गणेश बस्ती बस्ने ३० वर्षीय राम भजन राना, मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३२ वर्षीय राधेश्याम राना, अटोरिक्सामा सवार बेलौरी नगरपालिका वडा नम्बर १० भुडा बस्ने १३ वर्षीय आकाश विक, सोही ठाउँ बस्ने १२ वर्षीय आशिष विक, पुनर्वास नगरपालिका वडा नं. ८ क गाउँ बस्ने ६० वर्षीया लीला सुनार तथा बर्दिया जिल्ला बस्ने ३२ वर्षीय रघुवीर सुनार र १२ वर्षीया करुणा सुनार घाइते भएका छन् ।
घाइतेमध्ये तीन जनाको पुनर्वास पोलीक्लिनिक आइविआरडीमा, तीन जनाको निसर्ग अस्पताल धनगढीमा र एक जनाको नोभा अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरी निरीक्षक विष्टले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्