तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा यस वर्ष धान उत्पादन घट्यो

जुम्ला । जुम्लामा यस वर्ष मार्सी धान उत्पादन ५ हजार ४ सय ५८ मेट्रिक टन मात्रै भएको छ । 

आव २०७६÷०७७ मा ६ हजारभन्दा बढी मेट्रिक टन र आव २०७७÷०७८ मा ६ हजार ६ सय ७० मेट्रिक टन धान उत्पादन भएको थियो ।

जुम्लामा यस वर्ष झन्डै १ हजार २ सय १२ मेट्रिकटनले घटेर ५४ सय ५८ मेट्रिक टन मात्रै मार्सी धान उत्पादन भएको जिल्ला जिल्ला कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी शेरबहादुर बुढाले बताउनुभयो । 

“मार्सी धान खेतीको क्षेत्रफल पनि बढेको र यस वर्ष समयमै वर्षा भएका कारण झन्डै ७ हजार ६ सय २५ मेट्रिक टन धान उत्पादन हुने लक्ष्य राखिएको थियो ।” उहाँले भन्नुभयो “तर बेमौसमी वर्षाले क्षति पुर्‍याएपछि गत वर्षभन्दा १ हजार २ सय मेट्रिक टन धान उत्पादन घट्यो । त्यस्तै अन्य रैथाने बालीको उत्पादन पनि घटेको छ । यकिन विवरण निकाल्दै छौँ ।”

बेमौसमी बाढीले जुम्लाको तातोपानी र तिलाको १८ हेक्टर र सिँजा क्षेत्रको थुप्रै मार्सी फाँटमा क्षति पुर्‍याएपछि उत्पादन घटेको हो । 

आफ्नै उत्पादनले ६ महिना नपुग्ने जुम्लासहित कर्णालीमा उत्पादन वर्षेनी घट्न थालेपछि खाद्य संस्थानकै चामलमा निर्भर हुनुपर्ने बाध्यता भएको सूचना अधिकारी बुढाको भनाई छ । 

“बाढीले धान बगायो । अहिलेसम्म राहत पनि पाएका छैनौँ । बिउँ गर्ने धान पनि कहाँबाट ल्याउने चिन्ता छ । खाद्यको चामल खानुको विकल्प छैन ।” तातोपानी–२ का किसान दत्त बुढा बताउनुहुन्छ । 

उहाँ जस्तै जुम्लाका झन्डै १ हजार २ सयभन्दा बढी मार्सी किसानले बेमौसमी वर्षाका कारण क्षति व्यवहोरि रहेका छन् । उनीहरूको राहतको पर्खाइमा छन् । 

कर्णालीको खेतीयोग्य जमिनमध्ये २७.५५ प्रतिशत जग्गा अझै बाँझो रहेको तथ्याङ्क छ । जसमध्ये १७.५३ प्रतिशत खेतीयोग्य जमिनमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ । 

३८ सय क्वीइन्टल खाद्यको चामल विक्री
बिउका लागि पनि मार्सी धान लगायत रैथाने बाली नभएपछि दैनिक छाक टार्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा सेता चामल किन्न दैनिक सयौँको भिड लाग्ने गरेको छ । 

दैनिक झन्डै एक सय जना नागरिकले खाद्यको चामल लिने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी जुम्लाका निमित्त प्रमुख निर्मल विष्टले बताउनुभयो ।

चालु आवको माघ ८ गतेसम्म मात्रै झन्डै ३ हजार ८ सय ६० क्वीइन्टल चामल बिक्री भएको छ । यस वर्ष करिब ४ हजार ४ सय ४३ क्वीइन्टल कोटा चामल आएको उहाँले जनाकारी दिनुभयो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोना मन्सुली, अरुवा मोटा, मकवानपुर, बासमती र मध्यम चामल लगायतका विभिन्न प्रकारका चामल बजारको भन्दा सुलभ मूल्यमा विक्री गर्दै आएको छ । 

दैनिक २० देखि ३० क्वीइन्टलसम्म चामल बिक्री हुने गरेको निमित्त प्रमुख विष्टले जानकारी दिनुभयो । 

मार्सी धान उत्पादन घटेपछि जुम्लाका नागरिक खाद्यकै चामलमा निर्भर रहेछन् ।  

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतका प्रमुख माधवकुमार मिश्रले सुर्खेतबाट वार्षिक झन्डै १ लाख क्विन्टल चामल कर्णालीका विभिन्न जिल्लामा जाने गरेको बताउनुभयो । 

जुम्ला शाखाले कर्णालीका विभिन्न जिल्ला र डिपो कार्यालयमा चामल पठाउने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button