तपाईँ सुन्दै हुनुहुन्छः

रामपुर अस्पताल निर्माण समयमा सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या

पाल्पा । जिल्लाकै ठूलो सरकारी अस्पताल रामपुर अस्पताल निर्माण समयमा सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ ।

तीन वर्षमा निर्माण कार्य पुरा गर्ने गरी ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले निर्माण कार्य सम्पन्न नगरेकाले सेवा प्रवाह प्रभावित भएको हो । 

२०७२ कात्तिकमा रामपुर अस्पतालको भवन निर्माणको ठेक्का सम्झौता गरेको रबिना कन्ट्क्सनले निर्माण कार्य हालसम्म सम्पन्न नगरेकाले दैनिक रुपमा अस्पतालले प्रवाह गर्ने सेवा खुम्चिएको अस्पतालका प्रमुख विजय परियारले बताउनुभयो । 

नेपाल सरकारका तत्कालीन सचिव शान्ता बहादुर श्रेष्ठले प्राथमिक स्वास्थ्य केन्द्रबाट रामपुर अस्पतालमा रूपान्तरण गरेसँगै त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका लागि रकम पनि निकासा गरिएको थियो । 

सचिव श्रेष्ठको पदबाट अवकाश भएको एक वर्षपछि मृत्यु भयो । मृत्यु भएको पनि दुई वर्ष भयो । तर भवनको निर्माण कार्य कछुवाको गतिमा अगाडि बढेको स्थानीय अमृत काफ्ले बताउनुहुन्छ । 

मूल्य अभिवृद्धि कर बाहेक १८ करोड रुपैयाँ ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पटक पटक विभिन्न बहाना बनाएर काम अगाडि बढाएन । भवनको प्राविधिक रेखदेख गर्न पनि ठेकेदार नभेटिने गरेको स्थानीय बासिन्दा कृष्णकुमार अर्याल  बताउनुहुन्छ । 

जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पताल भए पनि भवनको समस्याका कारण अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरूलाई पानी चुहिने पुरानो भवनबाट सेवा प्रवाह भएको छ । 

दैनिक रुपमा दुई सय ५० देखि तीन सय ५० सम्म बिरामी  आउने अस्पताल भए पनि भवनको समस्याका कारण अन्य सुविधा समेत खुम्चिएको दुखेसो पोख्दै स्थानीय मयुरा रेग्मी बताउनुहुन्छ । 

स्थानीय सरकारले पटक पटक निर्माण कम्पनीलाई घच्घचाउने काम नगरेको होइन । सङ्घीय सरकार तथा प्रदेश सरकारबाट स्थानीय सरकारसँग कुनै पनि समन्वय नभएकाले पनि स्थानीय सरकारलाई निर्माण कम्पनीले टेर्नै छाडेको बताउनुहुन्छ रामपुर नगरका प्रमुख रमण थापा । 

अस्पताल प्रशासनले निर्माण कम्पनीलाई दर्जनौँ पटक पत्राचार गरेको छ । दुई वर्ष अगाडि पनि तीन महिनामा पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेको अस्पतालका प्रशासन शाखा प्रमुख हिरा बि.क बताउनुहुन्छ । 

निर्माण कम्पनीका प्राविधिक मोहमद अन्सारुल पनि निर्माण कार्य विलम्ब भएको स्वीकार गर्नुहुन्छ । 

यस पटक कार्य प्रगति ९५ प्रतिशत पुरा भएको छ । चैत मसान्त सम्ममा बाँकी काम सकिने गरी काम अगाडि बढेको अन्सारुलले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button