चितुवाको निगरानी गर्न स्वचालित क्यामेरा जडान

कञ्चनपुर । कञ्चनपुरमा चितुवाले घरपालुवा जनावर खान थालेपछि त्यसको निगरानी गर्न स्वचालित क्यामेरा जडान गरिएको छ ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–२ को जानकारी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको हो ।
चितुवामाथि निगरानी राख्नका लागि दुई वटा स्वचालित क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
चितुवाको बासस्थान र प्रजाति पत्ता लगाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा क्यामेरा जडान गरेको प्रहरीले जनाएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयबाट अरू क्यामेरा समेत ल्याएर चितुवा बस्ती छिर्ने ठाउँको पहिचान गरी जडान गर्ने कार्य हुने प्रहरी जनाएको छ ।
चितुवाले दुई सातादेखि सो नगरपालिकाका वडा नं १ र २ मा गरी स्थानीय किसानले पालेका दुई दर्जन बढी बाख्रा र त्यही सङ्ख्याका गाईका बाच्छाबाच्छी मार्ने र खाने गरेको छ ।
गए राति मात्रै वडा नं १ का हर्के सार्कीका चार गोठमा बाँधेका बाख्रा चितुवाले मारेर नोक्सानी पुर्याएको छ ।
निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत, प्रहरी उपरीक्षक, जनप्रतिनिधि लगायतको टोलीले चितुवाले क्षति पुर्याएको क्षेत्रको अवलोकन समेत गरेका छन् ।
प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी विद्यमान साधन स्रोतको प्रयोग गरी चितुवा नियन्त्रणका लागि कार्य अगाडि बढाइने निकुञ्ज प्रशासनले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्