तपाईँ सुन्दै हुनुहुन्छः

गिद्धलाई पासो बन्दै ३३ केभि प्रसारण लाइन

तनहुँ । मादीनदी किनारको शिशुवा भतेरीमा छाडा चौपायालाई व्यवस्थित गर्न गौ संरक्षण केन्द्र बनाइएको छ । छाडा चौपाया जथाभाबी छाडिँदा सवारी दुर्घटना हुने, अरूको बालीनाली खाएर सखाप पारिदिने र बजार क्षेत्रको स्वरूप बिगारिदिने लगायतका समस्या हल गर्न व्यास नगरपालिकाको सक्रियतामा छाडा चौपाया व्यवस्थापनका लागि गौ संरक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ ।

तनहुँको व्यास नगरपालिका–१० मा पर्ने यो ठाउँमा गौ संरक्षण केन्द्र बनेसँगै यस क्षेत्रमा गिद्धको आगमन र सङ्ख्यामा पनि वृद्धि हुँदै गएको स्थानीय रामप्रसाद सापकोटाले बताउनुहुन्छ । उहाँका अनुसार गौ संरक्षण केन्द्रमा मरेका गाई खान प्रशस्त गिद्ध आउने गरेका छन् । तर उक्त क्षेत्रमा विस्तार भएको ३३ केभी प्रसारण लाइन गिद्धका लागी पासो बनेको छ । तल्लो सिसौ घारीदेखि परेवा डाँडासम्मको करिब ३ किलोमिटर क्षेत्रमा गिद्ध मर्ने गरेका छन् । जसको कारण ३३ केभी प्रसारण लाइन भएको स्थानीय रामप्रसाद सापकोटाले बताउनुहुन्छ ।

गौ संरक्षण केन्द्रमा मरेका गाईको सिनो खाएर बस्नका लागि ३३ केभी प्रसारण लाइनको तार र पोलमा पुग्दा करेन्ट लागेर गिद्ध मर्न थालेका स्थानीय रामप्रसाद सापकोटाले बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘पोल र अन्य रुखको उचाइ बराबर छ, त्यसैले पनि गिद्धलाई मेरो नभएर विद्युत् पोलमा बस्न जाने देखियो ।’

गौ संरक्षण केन्द्र बनाएसँगै छाडा चौपायालाई व्यवस्थित गर्न सहज भएको छ । तर, यहाँ मरेका गाईको सिनो खाएर वातावरणलाई स्वच्छ राख्ने गिद्धको संरक्षणका विषयमा भने सरोकारवाला निकायको ध्यान पुगेको छैन ।

प्रकृतिलाई स्वच्छ राख्ने गिद्धको अवस्था तनहुँमा सङ्कटग्रस्त हुने डर बढेको छ । मरेका चौपायाको सिनो खाएर प्रकृतिलाई सफा गर्दै आएको गिद्ध मर्ने क्रम बढेको छ ।

गौ संरक्षण केन्द्रका कारण गिद्धको संरक्षणका साथै सङ्ख्यामा वृद्धि भएपनि हाइटेन्शन लाइनका कारण करेन्ट लागेर गिद्ध अकालमै मर्ने गरेका छन् । २०७६ सालमा विद्युत् प्रवाह भए यता करिब ६०/७० वटा गिद्ध करेन्ट लागेर मरेको स्थानीय अर्का स्थानीय नरिश्वर सापकोटा बताउनुहुन्छ ।

वातावरण प्रदूषण, दुर्गन्ध र रोग मुक्त बनाउन गिद्धको भूमिका महत्त्वपूर्ण छ । गिद्धलाई प्रकृतिको कुचीकारका रुपमा पनि परिचित छन्। गिद्धको अनुपस्थितिमा सिनो वातावरणमा यत्रतत्र छरिएर रहने भएकोले परिणामस्वरुप मानिसमा झाडापखाला, रेबिज, प्लेग, हैजा, आउँ र पशु चौपायाहरूमा एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग जस्ता विभिन्न रोगहरूको सङ्क्रमणले महामारीको रूप लिन सक्ने विज्ञहरू बताउँछन् ।

गौ संरक्षण केन्द्र आसपासबाटै विस्तार गरिएको भोर्लेटार–दमौली ३३ केभी प्रसारण लाइनका कारण गत सोमबारमात्रै तीन वटा गिद्ध मरेका छन् भने एउटा गिद्ध घाइते अवस्थामा भेटिएको छ ।

‘सोमबार मात्रै एउटा विद्युतको पोलमा मरेको अवस्थामा झुण्डिएको, २ वटा भुईँमा मरेको अवस्थामा र एउटा करेन्ट लागेर घाइते अवस्थामा गिद्ध भेटियो’, शिक्षक समेत रहेका सापकोटाले भन्नुभयो, ‘विद्युत् प्राधिकरणले दीर्घकालीन रुपमा पर्ने असरको अध्ययन नगरी हाइटेन्शन लाइन विस्तार गर्दा यस क्षेत्रमा खेल मैदान, झोलुङ्गे पुल निर्माणमा समेत समस्या खडा भएको छ ।’ उहाँका अनुसार यस क्षेत्रमा प्राधिकरणले राम्रोसँग विद्युत् पोलको अर्थिङ्ग नमिलाउँदा अर्थिङमा परेर स्थानीय एक बालक समेत घाइते भएका थिए ।

गौ संरक्षण केन्द्र पारी रहेका सिमलका रुख काट्न नदिने र सालका लामा–लामा बलो बनाएर गिद्धलाई आराम गरेर बस्ने ठाउँ बनाउन लागेको व्यास–१० का वडा अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो ।

मादी नदी तटबन्धन गरेर गौ संरक्षण केन्द्र जोगाउने पहिलो उद्देश्य रहेको वडाध्यक्ष सापकोटा बताउनुहुन्छ । उहाँले भन्नुभयो ‘नाङ्गो तार व्यवस्थापनका लागि विद्युत् प्राधिकरण र हाइड्रोपावर सँग पटक पटक अनुरोध गरेको छु । तर अलि व्यवस्था गरिएको छ । हाइड्रोले प्राधिकरणलाई हस्तान्तरण गरेको छैन, त्यसैले पनि कसले जिम्मेवारी लिने भन्ने विषयमा समस्या देखिएको वडाध्यक्ष सापकोटा बताउनुहुन्छ ।

केन्द्रमा हाल १०० भन्दा बढी गाई रहेको गौ संरक्षण केन्द्रका अध्यक्ष प्रजापति सापकोटाले जानकारी दिनुभयो । केन्द्रले प्रति गाई २ हजार शुल्क लिएर गाई व्यवस्थापन गर्ने गरेको अध्यक्ष सापकोटा बताउनुहुन्छ ।

मिलिम हाइड्रोले प्राधिकरणलाई हस्तान्तरण नगरेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख मेखराज जोशीले जानकारी दिनुभयो । उहाँले अगाडी भन्नुभयो ‘भतेरीमा भइरहेको घटना बारे मलाई जानकारी थिएन, बुझेर के गर्न सकिन्छ प्रक्रिया अगाडी बढाउँछौ ।’

‘सो क्षेत्रमा ३३ केभी भएकाले टावर बनाउन मिल्दैन ।’ प्रमुख जोशीले भन्नुभयो ‘अण्डरग्राउण्ड गर्न सकिन्छ तर त्यसको लागी पहाडी क्षेत्रमा सहज बहने छैन, प्रक्रिया पनि लामो हुन्छ ।’

गिद्धहरूमध्ये ६ प्रजाति गिद्धहरूले मात्र गुँड बनाई बच्चा कोरल्छ । डंगर, सानो खैरो र सुन गिद्ध रूखमा गुँड बनाउने प्रजाति हुन् भने हिमाली, हाडफोर र सेतो गिद्धले पहरामा गुँड बनाउने गर्छन् । अरू चरा प्रजाति जस्तै गिद्धको पनि भाले पोथी सजिलै छुट्याउन सकिन्न । गिद्धको जोडी आजीवन सँगै हुन्छन्, गुँड निर्माणदेखि बच्चा कोरल्ने अनि हुर्काउने काम सबै सँगैसँगै गर्छन् ।

नेपालमा गिद्धको घना वासस्थान पश्चिम नेपालको तराई र मध्यपहाडी वनमा रहेको पाइन्छ । गिद्ध धेरैजसो अग्लो, ठूलो सिमलको रूखमा बस्न रुचाउँछ। प्रकृतिमा हरेक जीवको आफ्नै महत्त्व हुन्छ, गिद्धको पनि आफ्नै धार्मिक, सांस्कृतिक र वातावरणीय महत्त्व रहेको छ ।

पर्यावरणमा योगदान

गिद्धले पर्यावरणमा विशिष्ट योगदान गर्छ । मरेका पशुहरूको सिनो खाएर प्रकृतिलाई स्वच्छ राख्न मद्दत गर्ने भएकाले यसलाई प्रकृतिको कुचीकार समेत भनिन्छ ।

अध्ययन अनुसार, एउटा गिद्धले सिनो सफाइमा करिब ११ हजार अमेरिकी डलर मूल्य बराबरको योगदान दिन्छ । त्यस कारण गिद्धलाई पर्यावरणीय चक्र र खाद्य शृङ्खला सन्तुलनको संवाहक मानिन्छ ।

नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये चार प्रजातिलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन)ले ‘अति सङ्कटापन्न’ सूचीमा राखेको छ । जसमा लामो ठुँडे गिद्ध, सुन गिद्ध, डंगर गिद्ध, सानो खैरो गिद्ध पर्छन् । साथै, हिमाली गिद्ध, हाडफोर गिद्ध, राज गिद्ध पनि सङ्कटको नजिक रहेका मानिन्छन् ।

सन् १९८० को दशकमा नेपालमा १६ लाखसम्म गिद्ध पाइएको तथ्याङ्क छ । तर, अहिले २० हजारभन्दा कम रहेको अनुमान गरिन्छ । नेपालमा मात्र होइन, दक्षिण एसियाका भारत, पाकिस्तानमा समेत गिद्धको सङ्ख्या सन् १९९० को दशकदेखि घट्न थालेको हो ।

नेपालमा सन् २००२ देखि घटिरहेको डंगर गिद्धको सङ्ख्या २०१२ पछि बढ्न थालेको हो। डंगर गिद्धको सङ्ख्या दुई हजार जति पुगेको अनुमान छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button