छाडा र घर पालुवा ८५ कुकुरलाई बन्ध्याकरण र रेबिज विरुद्धको खोप शिविर

तनहुँ । तनहुँको व्यास नगरपालिका भित्रका छाडा (सामुदायिक) र घर पालुवा कुकुरको बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लगाउने शिविर सुरु भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको आयोजनामा मङ्गलवारदेखि नगरपालिका भित्रका छाडा (सामुदायिक) र घरमा पालेका कुकुरहरूको बन्ध्याकरण र खोप लगाउने शिविर शुरु गरिएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
छाडा कुकुर नियन्त्रण तथा व्यवस्थापनको लागि कुकुर बन्ध्याकरण गर्न सुरु गरिएको डा. श्रेष्ठले बताउनुभयो । प्रमुख श्रेष्ठले बन्ध्याकरणले छाडा कुकुरको जनसङ्ख्या घटाउन र कुकुरकै कारण बढ्ने सडक दुर्घटनामा कमी ल्याउने अपेक्षा गरिएको बताउनुभयो ।
छाडा कुकुरको ज्यादती नियन्त्रण गर्न यस्ता अभियान हरेक वर्ष सञ्चालन गर्ने योजना रहेको पशु सेवा कार्यालयका प्रमुख डा.श्रेष्ठले बताउनुभयो । कुकुरबाट लाग्ने रेबिज रोगलाई नियन्त्रण गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो ।
मङ्गलवार पहिलो दिन ८५ वटा कुकुरको बन्ध्याकरण र रेबिज विरुद्धको खोप पनि लगाइएको प्रमुख डा. श्रेष्ठले जानकारी दिनुभयो । जसमध्ये ५८ वटा सामुदायिक (छाडा) र २७ वटा घर पालुवा कुकुर रहेको उहाँले बताउनुभयो ।
नेपाल सरकारको सन् २०३० सम्म कुकुरको टोकाइबाट हुने रेबिज उन्मुलन गर्ने कार्यलाई मध्यनजर गर्दै कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन पनि दिइएको कार्यालयका प्रमुख डा. श्रेष्ठले जानकारी दिनुभयो । कुकुरको सङ्ख्यामा न्यूनीकरण गर्नको लागि बन्ध्याकरण र रेबिजबाट बच्न रेबिज विरुद्धको भ्याक्सिन दिन लागेका उहाँले बताउनुभयो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ आयोजना, केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौँको प्राविधिक सहयोग व्यास नगरपालिकाको सहयोगमा कुकुरको बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाउने कार्य शुरु गरिएको कार्यालयले जनाएको छ ।
बन्ध्याकरण र खोप लगाइएका कुकुरको देब्रे पट्टीको कानमा काटेर चिन्ह लगाउने गरिएको केन्द्रिय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौँका डा.अर्जुन अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार कुनै कुकुरले टोकिहाल्यो भने उक्त चिन्हले कुकुरमा खोप लगाएको र बन्ध्याकरण गरेको थाहा पाउन सजिलो होस भनी चिन्ह लगाइएको हो ।
सञ्चालित उक्त शिविरमा ६ जना सर्जनको टिमले कुकुरको अप्रेसन गरेका छन् । सामुदायिक (छाडा) कुकुरलाई समातेर ल्याउनको लागि केन्द्रीय कार्यालयबाट भेटेरिनरी एम्बुलेन्सको समेत व्यवस्था मिलाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्