तपाईँ सुन्दै हुनुहुन्छः

८ जिल्लाका शाखा र उपशाखाका एम्बुलेन्सलाई उपकरण हस्तान्तरण

बीरगंज । नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेश कार्यालयले प्रदेशका ८ जिल्लाका नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय र उपशाखाद्वारा सञ्चालित एम्बुलेन्सका लागि अक्सिजन सिलिन्डर सहित त्यसमा लाग्ने आवश्यक उपकरण र सामाग्री आज एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेशका अध्यक्ष फुलमहम्मद मियाँले पर्सा शाखाका सभापति बिरेन्द्रराज कँडेललाई पर्सा शाखा र उपशाखाद्वारा सञ्चालित ४ वटा एम्बुलेन्सका लागि १० लिटरको ८ थान अक्सिजन सिलिन्डर र त्यसमा आवश्यक उपकरण तथा सामाग्री हस्तान्तरण गर्नुभयो ।

प्रदेश अध्यक्ष मियाँले वितरित सामग्रीले विपतमा परेको व्यक्तिको तत्काल उद्धारका लागि एम्बुलेन्सलाई सहज हुने बताउनुभयो ।

पर्सा शाखाका सभापति बिरेन्द्रराज कँडेलले रेडक्रसका एम्बुलेन्सहरू विपतमा पनि खटिरहेकोले अक्सिजन सहितको सामाग्रीले सेवामा थप सहयोग पुग्ने बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा पर्सा शाखाका कोषाध्यक्ष महन्थ प्रसाद यादव, जिल्ला सदस्य शिवनाथ यादव लगायतको उपस्थिति रहेको थियो ।

त्यस अवसरमा बाराका लागि ८ सेट, रौतहट २ सेट, सर्लाही १० सेट, महोत्तरी २ सेट, धनुषा १२ सेट, सिराहा १४ सेट र सप्तरी ६ सेट गरी ६६ सेट ग्यास सिलिन्डर सहितका उपकरण उपलब्ध गराइएको नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेश अधिकृत सुदर्शन श्रेष्ठ जानकारी दिनुभयो ।

सो अवसरमा प्रादेशिक अस्पताल जनकपुरलाई पनि भेन्टिलेटर १ थान र सोमा लाने आवश्यक सामाग्री हस्तान्तरण गरिएको अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button