कोभिड–१९ का कारण ज्यान गुमाएका परिवारलाई राहत वितरण

जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले कोभिड–१९ का कारण ज्यान गुमाएका मृतकका परिवारलाई राहत रकम वितरण गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिनु भएको छ ।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट उपलब्ध गराएको १७ लाख रुपैंया प्रति मृतक एक लाखका दरले वितरण गरिएको प्रजिअ देवकोटाले बताउनुभयो । कोभिड–१९ को महामारीका समयमा परिवारको सदस्य गुमाएर पीडामा परेका परिवारलाई यो रकमले केही राहत मिल्ने देवकोटाको भनाइ छ ।
कोभिड–१९ बाट मृत्यु भएका मृतकका परिवारलाई राहत वितरण कार्यविधि, २०७८ को अनुसूची १, २ र ३ मा उल्लेख भए बमोजिम सरकारले मान्यता दिएको ल्याबले प्रमाणित गरेको कोभिड–१९ संक्रमित भएको पिसिआर रिपोर्ट र एन्टिजेन्ट रिपोर्ट सक्कलै प्रति दुई मध्य कुनै एकलाई आधार आधार मानेर कर्णाली प्रदेश सरकारले निर्णय गरी राहतस्वरुप उपलब्ध गराइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव वीरेन्द्रबहादुर केसीले बताउनु भएको छ ।
कोभिडबाट छेडागाड ६ का रत्नप्रसाद शर्मा, नलगाड ११ का भीमबहादुर मल्ल, नलगाड ७ का बिरबहादुर सिंह, नलगाड ५ की गंगादेवि शाही, नलगाड ४ का गनेशबहादुर रावल, नलगाड ३ का पठबिर थापा, भेरी ३ की कृष्णा शाह, भेरी १० का तुलवीर राना, भेरी ४ की लीला नेपाली, भेरी ६ का सरी देवी खड्का, शिवालय ६ का हरिभक्त रोकाय, लगायत १७ जनाको ज्यान गएको थियो । कोरोनाले आफन्त तथा अभिभावक गुमाएका परिवारलाई राहत रकमले केही राहत मिल्ने बताउनु हुन्छ बाबु गुमाएका नलगाड ४ का सुधन रावल ।
१७ जनामा १४ जनाले रकम लगिसकेको र ३ जनाको प्रक्रियामा रहेको छ । भुक्तानी दाबी गर्नका लागि कोभिड–१९ का कारण मृत्यु भएको अस्पतालले उपलब्ध गराएको प्रमाण, सम्बन्धित वडाको मृत्यु दर्ताको प्रमाण तथा सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि मृतकको परिवारभित्रको सदस्यलाई रकम उपलब्ध गराइएको प्रशासनले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्