तपाईँ सुन्दै हुनुहुन्छः

महासचिवमा मेरो स्वाभाविक दाबी छ : नेता पुन

काठमाडौँ ।नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पार्टी महासचिवमा आफ्नो दाबी स्वाभाविक भएको बताउनुभएको छ । चीनमा स्वास्थ्योपचार गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले आफू पहिले नै सचिव भइसकेकाले महासचिवमा दाबेदारी स्वाभाविक भएको टिप्पणी गर्नुभयो ।

नेता पुनले भन्नुभयो, “सहमति जुट्न सकेन भने प्रक्रिया होस्, त्यसमा म फेस गर्न चाहन्छु, पार्टी अध्यक्ष र नेताहरूलाई मैले उतैबाट पनि भनेको थिएँ । मलाई विश्वास, पार्टीले सहमतिमै टुङ्गो लगाउनेछ ।”

एक प्रश्नको जवाफमा नेता पुनले वर्तमान सत्ता गठबन्धनका वैचारिक धरातल र मान्यतामा धेरै भिन्नता भए तापनि लोकतन्त्र र परिवर्तनका उपलब्धिको रक्षा गर्ने विषयमा साझा मत रहेको र त्यो रहिरहने बताउनुभयो । पूर्व मन्त्री पुनले भन्नुभयो,“प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले लामो समयदेखि लोकतान्त्रिक प्रक्रियालाई अवरोध गरिरहेको, जिम्मेवार राजनीतिक दलकारुपमा त्यसमा उसले पुनः विचार गरोस् ।

लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गर्ने काम अन्त्य गरोस् ।” नेता पुनले आफू पूर्णरुपमा स्वास्थ्य भएको बताउँदै आफ्नो स्वास्थ्यलाभको कामना गरी चासो व्यक्त गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button