कोरोनाका जस्तै लक्षण देखिएपछि बाख्रा मर्न थाले
बैतडी । बैतडीको मेलौली नगरपालिका वडा न. ५ का किसानहरूले पालेका बाख्रा मर्दै गएका छन् ।
केही दिनसम्म खोक्ने, हाच्छ्युँ गर्ने, टाउको सुनिने, आँखामा पिप्रा आउने तथा र्याल काढ्ने लक्षण देखिएपछि मर्न थालेको मेलौली ५का गङ्गा पोख्रेलले बताउनुभयो । १ महिनाको अवधिमा आफूले पालेका ५ बाख्रा मरिसकेको उहाँले बताउनुभयो । एक खसी र चार बाख्रा मरेपछि झन्डै एक लाख रुपैयाँ बराबरको नोक्सान भएको उहाँले बताउनुभयो ।
गत १ महिनाको अवधिमा मेलौली ५का करिब २० बाख्रा मरिसकेको स्थानीय किसान भरत पोख्रेलले बताउनुभयो । बाख्राहरूमा एक्कासि आएको रोगले पशुपालन व्यवसाय नै सङ्कटमा परेको अर्का किसान वीरेन्द्र पोख्रेलले बताउनुभयो ।
केही बाख्राहरूमा समस्या देखिएपछि वडामा रहेका पशु प्राविधिकलाई समस्या बारे जानकारी लिन गाउँमा पठाएको नगरपालिकाका कृषि शाखा प्रमुख कमलापती भट्टराईले बताउनुभयो । बाख्राहरूमा निमोनियाका जस्ता लक्षण देखिएको उहाँले बताउनुभयो ।
बाख्राहरूमा जटिल समस्या देखिएको मेलौली ५का वडाध्यक्ष बलभद्र दयालले बताउनुभयो । बाख्राहरूमा देखिएको समस्या समाधानका लागि प्रदेश सरकार र सङ्घ सरकारको कृषि मन्त्रालयसँग उहाँले आग्रह गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्