कोरोना विरुद्ध खोप लगाउन अपिल
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका प्रत्येक वडा र टोल टोलमा कोरोना विरुद्ध खोप अभियान सञ्चालन गर्ने भएको छ ।
भोक्राहा नरसिंहको वडा नम्बर १ ढोकदेखि वडा नम्बर ८ भारतीय सीमासम्ममा प्रत्येक टोलमा नै कोरोना विरुद्ध खोप अभियान सञ्चालन गर्ने भएको भन्दै प्रत्येक नागरिकलाई खोप लगाउन अपिल गरेको छ ।
गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले सोमबार एक कार्यक्रमका बिच सरोकारबालाहरुसंग सबैलाई खोप लगाउन अपिल गर्नुभएको हो ।
अध्यक्ष यादवले ८ वटै वडाका अध्यक्षहरू , कार्यपालिका सदस्यहरु, स्वास्थ्य शाखा प्रमुख सहित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूलाई माघ १२ गतेबाट सञ्चालन गर्ने कोरोना विरुद्ध सघन खोप अभियानमा प्रचारप्रसार र खोप लगाउन अपिल गर्नुभएको हो ।
सरोकारबालासंगको कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आलम अन्सारीले पालिकाभरिमा ४० प्रतिशतले खोप लगाएको र बाँकी रहेको ६० प्रतिसतलाई पनि पूर्ण खोप लगाउने गरी कोरोना विरुद्ध खोप अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक भुवन केसी, अरुण पाण्डे, वडा अध्यक्ष हारुन अन्सारी, जनता समाजवादी पार्टीका महेन्द्र यादव, नेकपा एमालेका रामकुमार मेहता, नेकपा माओवादी केन्द्रका हेमनारायण मण्डल, जनमत पार्टीका देवराम मधेसीले कोरोना विरुद्ध खोप अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।








प्रतिक्रिया राख्नुहोस्