नगर प्रहरी भर्ना गर्दै चन्दननाथ नगरपालिका

जुम्ला । स्थानीय सरकार सञ्चालन भएको झण्डै साढे चार वर्षपछि जुम्लाको चन्दननाथ नगरपालिकाले नगर प्रहरी भर्ना गर्न थालेको छ । बढ्दो शहरीकरण सँगै बढेका चोरी डकैतीका घटना न्यूनीकरण गर्न र शान्ति सुरक्षालाई मजबुद बनाउन नगर प्रहरी भर्ना गर्न थालिएको हो ।
नगर प्रहरी कार्यविधि, २०७७ अनुसार चन्दनाथले नगर प्रहरी भर्नाका लागि लागि दरखास्त आह्वान गरेको छ । चन्दनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्र बहादुर बुढ्थापाले भन्नुभयो,“पहिलो चरणमा पाँच जना नगर प्रहरी भर्ना गर्दै छौ । नगरवासीको शान्ति सुरक्षा र अपराधका घटना न्यूनीकरण र नियन्त्रण गरी सभ्य समाज निर्माण गर्ने सोचमा जुटेका छौ ।”
नगरपालिकाले १० माघदेखि ११ फागुनसम्म २१ दिने सूचना प्रकाशित गरेको छ । नगरभित्र कुनै अभियोग नलागेका कानूनले अयोग्य ठहर नगरेका विपन्न बेरोजगार युवाहरूलाई समेत प्राथमिकता दिइने छ ।
प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाका अनुसार नगर प्रहरी कार्यविधि, २०७७ अनुसार काम, कर्तव्य तोकिएको छ । नगर सुरक्षा गर्ने, सवारी साधन पार्किङको व्यवस्थापन गर्ने, सावरी साधन पार्किङको शुल्क सङ्कलन गर्ने र नगर सरसफाइ व्यवस्थापन लगायत शान्ति सुरक्षाका लागि नगर प्रहरी भर्ना गर्न लागेको उहाँको भनाई छ ।
नगर प्रहरीको काम, कर्तव्य पनि करिब नेपाल प्रहरीसँग मिल्दोजुल्दो रहेको छ । नगर प्रहरीको पारिश्रमिक नगरपालिकाले तोकेबमोजिम हुनेछ । भने, सेवा निवृत्त भूतपूर्व प्रहरी कर्मचारीले पनि नगर प्रहरीका लागि आवेदन दिन सक्ने छन् ।
ढिलै भएपनि नगरपालिकाको सुरक्षाका लागि नगर प्रहरी भर्ना गर्न लागेकोमा नागरिक अगुवा राज बहादुर महतले धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो,“पहिलो वर्षमै गर्नुपर्ने काम हो । नगरपालिकालाई बल्ला महसुस भए छ । युवाले रोजगारी पनि पाउने शान्ति सुरक्षा पनि हुने । शहरीकरण बढ्दै छ । आगामी दिनमा नगर प्रहरीको सङ्ख्या बढाउनु पर्छ ।”








प्रतिक्रिया राख्नुहोस्