तपाईँ सुन्दै हुनुहुन्छः

दोलखामा स्वास्थ्य बिमा गर्ने सङ्ख्या न्यून

दोलखा । झण्डै तीन लाख जनसङ्ख्या रहेको दोलखा जिल्लामा पाँच हजारले मात्र स्वास्थ्य बिमा गरेको तथ्याङ्क स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय दोलखासँग रहेको छ । 

जिल्लामा पछिल्लो समय स्वास्थ्य बिमा प्रति आकर्षण देखिएको भएपनि हालसम्म पाँच हजारले मात्र स्वास्थ्य बिमा गरेको तथ्याङ्क प्राप्त भएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय दोलखाका कार्यालय प्रमुख एवं दर्ता अधिकारी तेजप्रसाद लुइँटेलले बताउनुभयो । 

जिल्लामा २०७७ चैत्र २५ गतेबाट स्वास्थ्य बिमा सुरु भएको थियो । झण्डै एक वर्षको अवधिमा ज्येष्ठ नागरिक २ हजार ५ सय र अन्य २ हजार ५ सय गरी ५ हजारले स्वास्थ्य बिमा गरेको तथ्याङ्क कार्यालयमा प्राप्त भएको लुइँटेलले बताउनुभयो । पालिकाहरूमा स्वास्थ्य बिमाको काम तीव्र गतिमा भइरहेको र सबै तथ्याङ्क प्राप्त भई नसकेकोले यो सङ्ख्या बढ्ने लुइँटेलको भनाई छ । 

पाँच जनासम्म भएको परिवार स्वास्थ्य बिमाको लागि ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था रहेको छ । पाँच जना भन्दा बढी सङ्ख्या भएकोमा थप एक जना बराबर सात सय रुपैयाँ दिनुपर्ने स्वास्थ्य बिमा बोर्डले जनाएको छ । यसरी बिमा गर्दा एउटा परिवारले वर्षमा एक लाख रुपैयाँसम्म बिमा रकम प्राप्त गर्ने छन् । 

स्वास्थ्य बिमा गर्ने परिवारलाई स्वास्थ्य बिमा बोर्डले उपचार खर्च, नियमित औषधि सेवन गर्नुपर्ने दिर्घरोगी लगायतलाई एक लाख रुपैयाँ बराबरको सहयोग गर्ने व्यवस्था रहेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय दोलखाले जनाएको छ । 

स्वास्थ्य बिमाको लागि ज्येष्ठ नागरिक, क वर्गको अपाङ्गता भएको व्यक्ति, कुष्ठ रोगी र ड्रग रेसिष्टेन्टलाई सरकारले निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिदिएको छ । महिला स्वास्थ्य स्वयंसेवीलाई स्वास्थ्य बिमामा ५० प्रतिशत छुट दिएको लुइँटेलले बताउनुभयो । 

दोलखाको तामाकोसी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेवीलाई ५० प्रतिशत रकम उपलब्ध गराएर निःशुल्क बिमाको व्यवस्था गरेको र ख वर्गको अपाङ्गता भएका व्यक्ति, दलित, पिछडिएको वर्गका मानिसलाई समेत निःशुल्क बिमाको व्यवस्था गरेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय दोलखाका कार्यालय प्रमुख लुइँटेलले बताउनुभयो । 

त्यसैगरी कालिञ्चोक गाउँपालिकाले सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले बताउनुभयो । कालिञ्चोक गाउँपालिकामा झण्डै २५ सय नागरिकको स्वास्थ्य बिमा भइसकेको पनि प्रमुख प्रशासकीय अधिकृत ओलीले बताउनुभयो । 

स्वास्थ्य बिमाको लागि प्रत्येक पालिकाहरूले वडा स्तरमा बिमा सहजकर्ता राखेर स्वास्थ्य बिमाको काम गर्दै आएका छन् । दोलखाको ७४ वडा मध्य आठ वटा वडामा भने बिमा सहजकर्ता नभएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय दोलखाका कार्यालय प्रमुख लुइँटेलले भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button