कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन राष्ट्रिय वाणिज्य बैङ्कलाई अर्थमन्त्री शर्माको आग्रह

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन राष्ट्रिय वाणिज्य बैङ्कलाई आग्रह गर्नुभएको छ ।
सोमबार भर्चुअल माध्यमबाट भएको बैङ्कको ५७ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री शर्माले बैङ्कलाई कृषि क्षेत्रमा कम्तीमा दुई गुणा लगानी बढाउन आग्रह गर्नुभएको हो ।
५७ औँ वार्षिकोत्सव सँगसँगै बन्ने नयाँ कार्यक्रममा बैकले आफ्नो ११ प्रतिशत कृषि क्षेत्रको लगानी, ५ प्रतिशत पर्यटन र ५ प्रतिशत औद्योगिक क्षेत्रको लगानीलाई वृद्धि गरी सकेसम्म दुई गुणा पुर्याउन अर्थमन्त्री शर्माले आग्रह गर्नु भयो ।
बैकबाट हुने लगानी वृद्धिबाट राष्ट्रिय पुँजी निर्माण, उत्पादन तथा रोजगारीमा महत्त्वपूर्ण योगदान पुग्ने अर्थमन्त्री शर्माले विश्वास व्यक्त गर्नु भयो ।
मन्त्री शर्माले आत्मनिर्भर हुनका लागि लगानी अति आवश्यक रहेको भन्दै बैङ्कले वैदेशिक ऋण भित्र्याउन गरिरहेको प्रयासमा सरकारले सहयोग गर्ने विश्वास समेत दिलाउनुभयो ।
उहाँले राष्ट्रिय वाणिज्य बैङ्क सरकारी वित्तीय संस्था भएकाले यसले बैङ्किङ मोडेलको रुपमा भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रको त्रिपक्षीय साझेदारीमा देशको अर्थतन्त्रलाई विकास गर्ने सरकारको रणनीति रहेको र सोही रणनीतिमा रहेर राष्ट्रिय वाणिज्य बैकले वित्तीय क्षेत्रमा एउटा मोडल स्थापित गर्नुपर्छ अर्थ मन्त्री शर्माले भन्नुभयो ।
अर्थमन्त्री शर्माले बैङ्कले सुरु गरेको ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा’ प्रशंसनीय रहेको उल्लेख गर्नु हुँदै सो प्रविधिबाट वित्तीय साक्षरता तथा वित्तीय पहुँच वृद्धि हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
बैङ्कको वार्षिकोत्सवका अवसरमा मन्त्री शर्माले युएसएसडी सेवाको उद्घाटन तथा ‘उपहार’ पुस्तकको लोकार्पण समेत गर्नुभएको थियो ।
वि.स.२०२२ साल माघ १० गते स्थापना भएको बैकले देशभरका २५८ शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्