हिमालय एयरलाइन्सलाई आइएसओ प्रमाणपत्र

काठमाडौँ । नेपाल–चीन संयुक्त लगानीमा रहेको निजी क्षेत्रको हवाई कम्पनी हिमालय एयरलाइन्स नेपालमै पहिलो पटक आइएसओ ९००१ः२०१५ गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण हुन सफल भएको छ ।
एयरलाइन्सलाई सोको स्तरीय व्यवस्थापन प्रणाली, जुन आइएसओ ९००१ः२०१५ का मापदण्डअनुरूप व्यवस्थित भएकै कारण आइएसओ ९००१ः२०१५ बाट प्रमाणीकरण गरिएको सो एयरलाइन्सले जनाएको छ ।
एयरलाइन्सले हवाई यात्रा गर्ने यात्रुहरू तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालिम लगायतका गुणस्तरीय सेवा प्रणाली व्यवस्था गरेबापत उक्त प्रमाणीकरण प्राप्त गरेको हो । आइएसओ ९००१ः२०१५ लाई विश्वव्यापीकरणै मान्यता प्राप्त स्तरीय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मानकीकरण सङ्गठनद्वारा (आइएसओ) प्रतिपादित एक प्रभावशाली मानकको रुपमा लिने गरिन्छ । आइएसओ ९००१ः२०१५ प्रमाण–पत्र संयुक्त अधिराज्यस्थित ‘युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स्’ र ‘युनाइटेड किङ्गडम एक्रिडिटेसन सर्भिस (युकेएएस्) द्वारा सो एयरलाइन्सलाई प्रदान गरिएको थियो ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले कम्पनीका सबै तहमा उच्चस्तरको कार्य प्रणाली अपनाउँदै, तिनलाई कायम राख्दै सम्बद्ध सबैको संयुक्त योगदान र प्रयासबाट हिमालयले आइएसओ प्रमाण पत्र प्राप्त गर्न सफल भएको बताउनुभयो । व्यावसायिक रुपमा सञ्चालन सुरु गरेको एक वर्षमै हिमालय एयरलाइन्सले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेशनल एयरलाइन्स इन साउथ एसिया’ अन्तर्राष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो भने अगस्त २०२० मा प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आइएसओ ९००१–२०१५ हासिल गर्न सफल भएको छ ।
हाल यस एयरलाइन्सले अबुधाबी, दमाम, ढाका, दोहा, दुबई, क्वालालम्पुर र रियादमा उडान सेवा भर्दै आएको छ । एयरलाइन्सले अहिले १८० इकोनोमी क्लास सिट भएका तीन एयरबस ३२०–२१४ सिरिज र एक एयरबस ३१९–११५ एयरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ । निकट भविष्यमा एयरलाइन्सको ल्हासा लगायत दक्षिण एसियाको अन्य प्रमुख सहरमा सेवा सञ्चालन गर्ने योजना रहेको जनाइएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्