तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमण बढेसँगै कारागारमा उच्च सतर्कता

चितवन । कोरोना सङ्क्रमण बढेसँगै कारागार कार्यालय भरतपुरमा उच्च सतर्कता अपनाइएको छ । कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदी बन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको छ ।

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भन्दै बन्द गरिएको हो । क्षमताभन्दा बढी कैदी बन्दी राख्नुपर्दा समस्या आउने भन्दै उहाँले कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार बन्द गरिएको जानकारी दिनुभयो । सार्वजनिक स्थलमा स्थानीय प्रशासनले २५ जना भन्दा बढी जमघट र भेला हुन रोक लगाएको छ ।

उहाँले भन्नुभयो, “जोखिम बढेसँगै कैदी बन्दीका आफन्तहरूसँग भेटघाटमा रोक लगाएका छौ ।” कारागार कार्यालयले बाहिरबाट ल्याइएका कैदी बन्दीको कोरोना परीक्षण नगरी नबुझ्ने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “पिसिआर परीक्षणको रिपोर्ट नभएसम्म कैदी बन्दी हामी बुझ्दैनौ ।” कारागार कार्यालयमा रहेका एक जना कैदीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएसँगै उच्च सावधानी अपनाइएको उहाँले बताउनुभयो । कारागार प्रशासनले बाहिरबाट नयाँ आएका कैदी बन्दीलाई र अस्पताल लग्नुपर्ने कैदी बन्दीलाई छुट्टै क्वारेनटिनको समेत व्यवस्था गरेको छ । ३० जनाको क्षमता रहेको क्वारेनटिन व्यवस्था गरिएको उहाँले बताउनुभयो । जहाँ नयाँ आएका र बिरामीलाई छुट्टै राख्ने गरिन्छ ।

उहाँले भन्नुभयो, “दुई कोठालाई क्वारेनटिनको रुपमा प्रयोग गरिएको छ ।” अहिले क्वारेन्टिनमा १३ कैदी बन्दी रहेका छन् । बाहिरबाट कारागारमा थपिने कैदी बन्दीको सङ्ख्या बढ्दै जाँदा यसलाई थप गर्न सकिने काफ्लेको भनाइ छ । २५ जना महिला र २५५ पुरुष कैदी बन्दी राख्ने क्षमता रहेको यस कारागारमा अहिले ७१२ जना रहेका छन् । जसमध्ये ४४५ कैदी तथा २५८ बन्दी छन् । कारागारमा रहेका मध्ये ५० महिला र ६६२ पुरुष हुन् । उनीहरूसँगै दुई आश्रित बालिका छन् । कारागार कार्यालय भरतपुरमा विभिन्न २० मुद्दाका कैदी बन्दी रहेको काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button