तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा प्रहरीद्वारा ६ महिनामा १९ करोड भन्दा बढी राजश्व सङ्कलन

सुनसरी । प्रदेश १ का १४ वटै जिल्लाका प्रहरीद्वारा कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस आर्थिक वर्षको पहिलो अर्ध वार्षिकमा ३ हजार ६ सय २७ मुद्दा दर्ता भएका छन् भने १९ करोड भन्दा बढी राजश्व सङ्कलन भएको छ । 

सङ्गठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउने तर्फ विशेष ध्यान दिई समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो । 

यस आर्थिक वर्षको गत ६ महिनामा मात्र ३ हजार ६ सय २७ वटा विभिन्न अपराध सम्बन्धी मुद्दा दर्ता भई कारबाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका ११ सय ६८ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी ६३२ बर्ष कैद भुक्तान भई ,४ करोड २५ लाख ९० हजार ४ सय ५२ रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

यसैगरी भन्सार चोरी निकासी तर्फ अवैध रुपमा समान चोरी निकासी गर्ने ४७ जना मानिस पक्राउ गर्नुका साथै ५ करोड ५८ लाख ८० हजार ५६७ रुपैयाँ राजश्व सङ्कलन भएको छ । यस्तै नदीजन्य पदार्थको अवैध रुपमा दोहन गर्ने ३२ जना मानिस र ५१५ वटा नदीजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै २० लाख १९ हजार २५० राजश्व सङ्कलन भएको छ । यसैगरी अवैध काठ चोरी निकासी गर्ने ४२ जना मानिस पक्राउ गर्नुका साथै १९५२ क्यु.फिट. काठ बरामद गरी ४४ लाख ४ हजार ६६६ राजश्व सङ्कलन भएको छ ।

यसैगरी ट्राफिक व्यवस्थापन तर्फ यस आर्थिक वर्षको ६ महिनामा मात्र ट्राफिक नियम उलङ्घन गर्ने १ लाख ३१ हजार ५७६ वटा सवारी साधनलाई कारबाही गर्दा ८ करोड ५९ लाख ६४ हजार ५०० राजश्व सङ्कलन भएको छ ।

यसैगरी लागूऔषध नियन्त्रण तर्फ गाँजा ३ सय ८२ किलो ८९९ ग्राम, चरेश १४ ग्राम ५०० मिलिग्राम, ब्राउन सुगर १ किलो ४२५ मिलिग्राम, विभिन्न मनोद्धिपक क्याप्सुल १० हजार ६८, मनोद्धिपक एम्पुल ३ हजार ८७५ र मनोद्धिपक औषधीहरू ४७५ क्याप्सुल नियन्त्रण गरिएको र १६६१ रोपनी क्षेत्रफलमा लगाएको ७ लाख ५१ हजार ७७८ बोट गाँजा नष्ट गरिएको छ ।

यसरी यसै आर्थिक वर्षको ६ महिनामा मात्र कुल १९ करोड ८ लाख ५९ हजार ४३५ राजश्व सङ्कलन भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button