तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेका औषधी पसलमा प्रशासनको अनुगमन

काभ्रेपलाञ्चोक । पछिल्लो समय काभ्रेमा सिटामोलको चरम अभाव देखिएको छ । कोरोना महामारीको समयमा बजारमा सिटामोल अभाव देखिएपछि  जिल्ला प्रशासन कार्यालय काभ्रेको टोलीले जिल्लाको प्रमुख व्यापारिक केन्द्र  बनेपाका बजारमा सञ्चालित औषधि पसल, अस्पतालका फार्मेसी र औषधी उत्पादन गर्ने कम्पनीमा  अनुगमन गरेको छ ।  

जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. पुरुषोत्तम सेढाई सहितको टोलीले बनेपामा रहेका फार्मेसी र मेडिसिन सप्लायर्सको अनुगमन गर्नु भएको हो । 

अनुगमनको क्रममा बिरामी भर्ना गरेर उपचार गरिरहेका अस्पतालमा समेत सिटामोल पाइएन । 

बनेपामै सञ्चालनमा रहेका दुई वटा अस्पतालमा अनुगमन टोलीले अनुगमन गर्ने क्रममा सिटामोल नपाएको हो ।  बिरामीलाई भर्नासमेत गरेर उपचार गर्दै आइरहेका  कृष्ण प्रसाद अस्पताल र तीनदोबाटोमा रहेको बनेपा अस्पतालमा आवश्यक मात्रामा सिटामोल नराखेको पाइएको हो । कृष्णप्रसाद अस्पतालको फार्मेसीमा अनुगमन गर्दा जम्मा ६० ट्याब्लेट सिटामोल पाइएको थियो ।

त्यसै गरी अनुगमनका क्रममा साना औषधी पसलमा समेत सिटामोल नपाइएको  सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले बताउनु भयो । 
सप्लायर्सहरुमा भने  ७५ हजार ट्याब्लेट भन्दा बढी सिटामोल रहेको पाइएको उहाँले जानकारी दिनुभयो । 

बनेपामा बनेपा मेडि स्टोर, केबी मेडिसिन, युवा मेडी सप्लायर्स लगायतले होलसेलमा औषधीको व्यापार गर्दै आइरहेका छन् । मुख्य सप्लासर्यहरुमध्ये सबैभन्दा बढी बनेपा मेडी स्टोरमा ४५ हजार ट्याब्लेट सिटामोल पाइएको उहाँले जानकारी दिनुभयो । 

अनुगमन टोलीले बनेपाको जनागालमा रहेको क्युरेक्स फर्मास्युटिकल्समा पनि अनुगमन गरेको थियो । अनुगमनका क्रममा कम्पनीले अन्य औषधीका साथै सिटामोल पनि उत्पादन गर्दै आइरहेको पाइएको थियो । कम्पनीले हाल १४/१५ लाख ट्याब्लेट बनाउने कच्चा पदार्थ रहेको र अर्डर आएअनुसार सिटामोल उत्पादन गरेर पठाउने गरेको जानकारी अनुगमन टोलीलाई दिएको छ ।

अनुगमनका क्रममा बनेपामा बिना अनुमति अवैध रुपमा चल्दै आएका औषधि पसल तत्काल बन्द गर्न प्रशासनले निर्देशन दिइएको छ । अनुगमन टोलीले औषधी पसल तथा सप्लायर्स दर्ता तथा नवीकरण भए या नभएको पनि हेरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button