तपाईँ सुन्दै हुनुहुन्छः

कान्दाका चेपाङले पाए दुई लाख बराबरको खाद्यान्न र लत्ता कपडा

चितवन । चितवनको विकट क्षेत्र कान्दाका चेपाङलाई दुई लाख बराबरको खाद्यान्न तथा लत्ता कपडा वितरण गरिएको छ । 

लक्ष्मी प्रतिष्ठानद्वारा सञ्चालित कुमार–बलराम स्मृति छात्रावासले अहिलेसम्मकै ठूलो मात्रामा राहत प्राप्त गरेको हो । खैरहनी–८ पर्सा स्थायी घर भई सामाजिक क्षेत्रमा सक्रिय मुरलीप्रसाद गजुरेलको संयोजकत्वमा देश तथा विदेशबाट सङ्कलित रकमबाट छात्रावासको लागि करिब दुई लाख रुपैयाँ मूल्य बराबरको खाद्यान्न तथा लत्ताकपडा प्राप्त गरिएको हो  । 

सामाजिक अभियन्ता गजुरेलले छात्रावासमा अध्ययनरत विद्यार्थीका लागि खाद्यान्न मात्र नभई तिनका अभिभावकलाई समेत न्यानो कपडा र भुईँमा ओछ्याउने म्याट्रेस वितरण गर्नुभएको हो  । कान्दा क्षेत्रका एक सय घर चेपाङ परिवारलाई प्रतिपरिवार एक थान कम्बल र एक थान ओछ्याउने म्याट्रेस प्रदानसहित बालबालिकालाई पनि लगाउने कपडा वितरण गर्नुभएको थियो  । 

एक महिनाअघि कान्दा आइपुग्दा यहाँका चेपाङको दयनीय अवस्था देखेपछि देश विदेशबाट आर्थिक सहयोग जुटाएर पुनः कान्दा आएरै उक्त सामग्री वितरण गरिएको सामाजिक अभियन्ता गजुरेलले बताउनु भयो ।

२०७२ सालबाट सञ्चालनमा रहेको उक्त छात्रावासमा अहिलेसम्मकै सबैभन्दा ठूलो रकम बराबरको राहत प्राप्त भएको छात्रावासका संयोजक मनोज श्रेष्ठले बताउनु भयो । ‘हाम्रो संस्था दाताहरूबाटै अहिलेसम्म चलिरहेको छ, दाताबिना यो संस्था बन्द हुन सक्छ । तर, यस पटकजस्तो ठूलो मात्रामा राहत यहीँ आएर वितरण गरेको यो पहिलो  हो,’ उहाँले भन्नुभयो । 

कान्देश्वरी आधारभूत विद्यालयमा अध्ययनरत सबै बालबालिका यही छात्रावासमा बसेर अध्ययन गर्दै आएका छन् । हाल कक्षा १ देखि ७ सम्म पढाइ सञ्चालन भएको उक्त विद्यालयमा १५८ जना विद्यार्थी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button