बागमती प्रदेशले “एक वडा, एक पशु चिकित्सक” कार्यक्रम सञ्चालन गर्ने
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशका ११९ स्थानीय तहमा “एक वडा, एक पशु चिकित्सक” कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कृषकलाई सहज बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशका ११ सय भन्दा बढी वडामा पशु चिकित्सक खटाउने तयारी गरेको हो ।

पशुपन्छी तथा मत्स्यमा लाग्ने रोगहरूको अन्वेषण, नियन्त्रण, रोकथाम तथा उन्मुलन गरी कृषकलाई सहजता प्रदान गर्ने उद्देश्यका साथ प्रदेश सरकारले एक वडा एक पशु चिकित्सक कार्यक्रम अघि सारेको मन्त्रालयका सचिव डाक्टर शरण कुमार पाण्डेले जानकारी दिनुभयो ।
स्थानीय तहको वडासम्मै नै प्राविधिक सेवा विस्तार गर्न, पशु सेवालाई सहज, सरल, पहुँचयोग्य बनाई छिटो छरितो र गुणस्तरीय सेवा प्रदान गर्न, ग्रामीण क्षेत्रमा पशु सेवा प्रदायक र कृषकहरू बिचको दुरी कम गर्दै पशुपन्छी क्षेत्रको विकासको लागि एक वडा एक पशु चिकित्सक कार्यक्रम यसै वर्षबाट सुरु गर्ने गरी तयारी थालिएको सचिव पाण्डेले बताउनुभयो ।
त्यसका लागि स्थानीय तहसँग समन्वय गरी वडाहरूमा पशु स्वास्थ्य क्लिनिक स्थापनाका लागि प्रस्ताव गर्न मातहतका कार्यालयहरूलाई परिपत्र समेत गरिसकिएको उहाँले बताउनुभयो ।
प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशमा कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको विकासका लागि ५१ बुँदे मार्गचित्र सार्वजनिक गरेको थियो । सो मार्गचित्रमा पशु स्वास्थ्य तथा क्लिनिकल सेवालाई विस्तार गर्न स्थानीय तहसँगको समन्वयमा एक वडा एक पशु स्वास्थ्य क्लिनिक सञ्चालनमा जोड दिइएको थियो ।
कार्यक्रमबाट व्यावसायिक पशुपन्छी पालनका आधुनिक प्रविधिमा कृषकको पहुँच पुग्नुका साथै पशुमा लाग्ने रोगहरूको न्यूनीकरण र निराकरण गर्न सहज हुने सचिव पाण्डेले बताउनुभयो । उहाँले यो वर्ष केही पशु चिकित्सक राख्ने र अर्को बर्ष पुरै कार्यक्रम सञ्चालन गरिने जानकारी समेत दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्