तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाका कारण पर्यटक घट्दै

लमजुङ।समुन्द्री सतहदेखि दुई हजार १०० सय मिटर उचाइमा रहेको घले गाउँमा कोरोना सङ्क्रमणका कारण पर्यटकको आवागमन घट्न थालेको छ । घर वास (होमस्टे) सञ्चालित क्व्होलासोथर गाउँपालिका–३ स्थित घले गाउँमा तेस्रो लहरको कोरोना सुरुवात हुनुअघिसम्म चहलपहल भइरेपनि यति बेला पर्यटकको आगमन न्यून मात्रमा पुग्ने गरेको छ । कोरोनाको दोस्रो लहर सकिएसँगै पर्यटकको चहलपहल हुँदै आएको घले गाउँमा दशदिन अघिदेखि सुरु भएको कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम बढ्न थालेसँगै पर्यटक घट्न थालेको ग्रामीण घले गाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।

समितिका अनुसार यसअघि दैनिक २०० देखि ३०० जनाको हाराहारीमा पर्यटक आउने गरेकामा यति बेला भने हप्ताको ४०÷५० जना मात्र मुस्किलले आउने गरेका छन् । कोरोना सङ्क्रमणका कारण पर्यटकको आगमन ठप्प हुन लागेपछि यहाँका घर वास सञ्चालकहरू चिन्तित भएका छन् । घले गाउँका घर वास सञ्चालक दिर्घराज घलेले भन्नुभयो, पुस र माघ पर्यटक नआउने याम भए पनि दैनिक २०० भन्दा बढी पर्यटक आउने गरेका थिए । कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेकाले जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुने कुनै कार्यक्रम नगर्न उर्दी जारी गरेकाले पर्यटक हत्तै घटेको उहाँको भनाइ थियो ।

कोरोना सङ्क्रमणको करिब तीन वर्ष पर्यटकको आगमन घटेको थियो । अघिल्लो चार महिना मात्र पर्यटक आगमन हुन थाले पनि पुनः कोरोनाले गर्दा पर्यटक नआउँदा आम्दानी नभएर आफूहरू चिन्तित भएको घर वास सञ्चालक घलेको भनाइ थियो। प्रत्येक घर वास सञ्चालकले महिनाको रु ३० हजारदेखि रु ५० हजारसम्म आम्दानी गर्दै आए पनि कोरोनाका कारण पर्यटक आगमनमा कमी भएकाले उनीहरू निराश बन्न थालेका छन् ।

आम्दानीकै मुख्य श्रोत बनाउँदै आएका यहाँका अधिकांश घर वास सञ्चालकहरूलाई पर्यटकको अभावमा आम्दानी रोकिदा परिवारको गुजारा कसरी चलाउने भन्ने चिन्ताले सताउन थालेको छ । विसं २०५६ देखि ग्रामीण पर्यटन प्रवद्र्वनको प्रयासबाट १२ घरबाट सुरु गरिएको घर वास यति बेला यहाँ ३७ घरमा विस्तार भएको छ ।

घले गाउँमा पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकासका लागि हालसम्म करौडौ रुपैयाँ घलेगाउँबासी र सरकारले खर्च गरिसकेका छन् । मुलुकमा विसं २०६२÷२०६३ को जनआन्दोलनपछि गणतन्त्र स्थापना भएसँगै परराष्ट्र मन्त्री स्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घले गाउँलाई सार्क राष्ट्रकै नमुना ग्रामीण पर्यटकीय गाउँका रुपमा घोषणा गरेको थियो ।

घरवासमा आएका पर्यटकहरूलाई सत्कारसँगै आफ्ना कला र संस्कृति जोगाई राख्न जुटेका गुरुङसेनीहरुको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायत लोपोन्मुख सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुँदै आएको थियो । यहाँ आउने पर्यटकलाई घर वास सञ्चालकहरूले गाउँघरमै उब्जाइएका प्राङ्गारिक चामल, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, स्थानीय कुखुरा, खसी बोका, भेडाको मासुलगायत परिकारले सत्कार गर्दछन् ।

नेपाल आदिवासी जनजातिमध्ये गुरुङहरूको उद्गम थलो तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँका रुपमा समेत घले गाउँलाई लिइन्छ । सूर्योदय तथा सूर्यास्तको मनोरम दृश्य, प्राकृतिक दृश्यावलोकन, गुरुङ समुदायको परम्परागत गुरुङ घर, घले राजाको शालिक, गुरुङ सङ्ग्रहालय, क्वोईवो धीं, सात कुवा, चिया बगान, भीर मौरी, बन झाँक्री छहरा लगायत स्थान समेत घले गाउँमा देख्न सकिन्छ ।त्यस्तै घले गाउँबाट ६९८६ मिटर अग्लो लमजुङ हिमाल, ७९३५ मिटर अग्लो अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल(चौथो), ६९६३ मिटर अग्लो माछापुच्छ्रे« हिमाल, ८१६३ मिटर अग्लो मनास्लु हिमाल, ७८९३ अग्लो हिमालचुली, ७८३५ मिटर अग्लो ङादीचुली (डा.हर्क हिमाल) र ६६७२ मिटर अग्लो बुद्ध हिमाल देख्न सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button