बजेटको कार्यान्वयनको अर्धवार्षिक समीक्षा शूरु
काठमाडौँ । सरकारले चालु आर्थिक बर्ष २०७८–२०७९ बजेटको कार्यान्वयनको अर्धवार्षिक समीक्षा शूरु गरेको छ ।
समीक्षाको क्रममा सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक अवस्थाको तुलनात्मक अध्ययन समेत गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

पछिल्ला तीन वर्षको तथ्याङ्क अनुसार सरकारको राजस्व सङ्कलनको अवस्था क्रमशः धनात्मक देखिएको छ । त्यस अवधिमा सरकारको समग्र खर्चमा भने उतार चढाव देखिएको छ ।
चालु आर्थिक वर्ष २०७८–८९ को पुस मसान्तसम्म ४५ दशमलव ९१ प्रतिशत राजश्व सङ्कलन भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ दशमलव १८ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७७–७८ मा ४१ दशमलव ७३ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।
आर्थिक वर्ष २०७६–७७ को पुस मसान्तसम्म भने राजश्व सङ्कलन कुल लक्ष्यको ३८ दशमलव ९५ प्रतिशत रहेको थियो ।
अर्धवार्षिक खर्चतर्फ भने पछिल्लो तीन आर्थिक वर्षको अवस्था लगभग हाराहारीको अवस्थामा रहेको छ ।
चालु आर्थिक वर्ष २०७८–८९ को पुस मसान्तसम्म सरकारको पुँजीगत खर्च १३ दशमलव ४४ प्रतिशत मात्र भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ९६ प्रतिशत कम हो ।
अघिल्लो आर्थिक वर्ष २०७७–७८ को सोही अवधिमा १४ दशमलव ४० प्रतिशत पुँजीगत खर्च भएको थियो । आर्थिक वर्ष २०७६–७७ को पुस मसान्तसम्म पुँजीगत खर्च १४ दशमलव ८९ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिको चालु र वित्तीय खर्चमा भने केही उतार चढाव देखिएको छ । चालु आर्थिक वर्ष २०७८–८९ को पुस मसान्तसम्म चालु खर्च ३८ दशमलव १३ प्रतिशत रहेकोमा वित्तीय खर्च २६ दशमलव १२ प्रतिशत रहेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७–७८ को सोही अवधिमा चालु खर्च ३६ दशमलव ०८ रहेकोमा वित्तीय खर्च १३ दशमलव ०६ प्रतिशत भएको थियो ।
आर्थिक वर्ष २०७६–७७ को पुस मसान्तसम्म चालु खर्च ३२ दशमलव ३५ प्रतिशत भएको थियो भने वित्तीय खर्च २२ दशमलव ४४ रहेको थियो । यस्तै वित्तीय खर्च अघिल्लो वर्षको तुलनामा करिब दोब्बर बढी भएको देखिएको अर्थ मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्