सचेतनामूलक कार्यक्रम गरी २४औँ भूकम्प सुरक्षा दिवस मनाइयो

काठमाडौँ । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने मूल नाराका साथ आज विभिन्न सचेतना मूलक कार्यक्रम गरी २४औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ ।
भूकम्प सुरक्षा दिवस राष्ट्रिय मूल समारोह समितिले काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले बलियो भौतिक संरचना र दिगो विकासलाई गाउँदेखि शहरसम्म पुर्याउनुपर्ने बताउनुभएको छ ।
कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले विपद्को पूर्वानुमान गरी विभिन्न कार्यक्रमहरू योजनाबद्ध रुपमा अघि बढाउन आवश्यक भएको बताउनुभयो ।
उहाँले आर्थिक विकासका लागि वातावरणमा कम क्षति पुर्याउने गरी विकास गर्न सबैलाई अनुरोध समेत गर्नुभयो ।
जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गरी सुरक्षित योजनाबद्ध र भूकम्प प्रतिरोधात्मक संरचना निर्माण र पुन निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।
विगतका विपद्बाट पाठ सिक्दै आवश्यक परेका बेला तत्काल प्रयोगमा आउन सक्ने गरी दक्ष जनशक्ति तयार पारी राख्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
प्रधानमन्त्री देउवाले बालुवाटारबाट भर्चुअल रुपमा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनीको उद्घाटन र विपद् पुस्तिकाको लोकार्पण पनि गर्नुभयो ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले भूकम्पीय जोखिमका आधारमा नेपाल उच्च जोखिमपूर्ण ११औँ स्थानमा रहेको जानकारी दिनुहुँदै कमजोर भौतिक संरचनाका कारण बढी क्षति व्यहोर्नु परेको बताउनुभयो ।
उहाँले विं सं २०७२ को भूकम्पबाट भत्केका संरचनाको पुन निर्माण काम सकिएको जानकारी दिनुभयो ।
मन्त्री खाँणले कोरोना भाइरसबाट जनताको जीवन रक्षा गर्नु सरकारको दायित्व भएकाले यसबाट बच्न सरकारले तयार गरेको प्रोटोकल पालना गर्नु गराउनु सबैको दायित्व भएको पनि बताउनुभयो ।
सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले काठमाडौँ उपत्यकालगायत ठुला सहरमा विपद्बाट बच्न सुरक्षित खाली ठाउँ आवश्यक भएको बताउनुभयो ।

मन्त्री झाँक्रीले खाली ठाउँ देख्ने बित्तिकै घर बनाउने सोचाई गलत भएको र सरकारले ल्याएको भवन मापदण्ड लगायतका नीतिलाई स्थानीय तहहरूले पालना गर्नुपर्ने बताउनुभयो ।
उहाँले आगामी आर्थिक वर्षमा कमजोर घरहरू पहिचान गरेर घरहरू प्रबलीकरण गर्ने कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रम, भूकम्प सुरक्षा दिवस राष्ट्रिय मूल समारोह समितिका संयोजक तथा ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जनको अध्यक्षतामा भएको थियो ।
विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा विसं २०५५ देखि हरेक वर्ष आजकै दिन राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।
सोही अवसरमा आज दिउँसो २ः२४ को समयमा रेडियो नेपालले १ मिनेट धुन बजाएर भूकम्पमा दिवङ्गत भएकालाई श्रद्धाञ्जली दिइएको थियो ।








प्रतिक्रिया राख्नुहोस्