तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य मापदण्डभित्र रहने गरी बीरगंजमा माघी महोत्सवको तयारी

बीरगंज । स्वास्थ्य मापदण्डभित्र रहने गरी माघे सङ्क्रान्तिको अवसरमा हरेक वर्ष वीरगञ्जको स्विमिङ पुलमा आयोजना हुने माघी महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ ।

आदिवासी थारु समुदायले यस वर्ष पनि २६४६ औँ संवत् मनाउने तयारी गरेका छन् । 

माघी पर्व आयोजक समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमार्फत तयारी पूरा भएको जानकारी गराएको हो । 

विगतको भन्दा यस वर्ष केही फरक र नयाँ तरिकाले माघी मनाउने तयारी रहेको माघी पर्व मूल आयोजक समितिका संयोजक राम सुन्दर चौधरीले बताउनुभयो । 

कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर माघी मनाइने संयोजक चौधरीले बताउनुभयो । 

थारु कल्याणकारिणी सभाका केन्द्रिय परिषद् सदस्य नन्द किशोर पंजियारले नेपालका आदिवासी जनजाति थारु समुदाय अझै पनि राज्यको विभेदमा परेको हुँदा विभेद विरुद्ध खबरदारी गर्ने पनि कार्यक्रमको ध्येय रहेको बताउनुभयो ।  

माघी पर्वको अवसरमा रक्तदान कार्यक्रम, थारु समुदायमा प्रचलित खानाका परिकारहरू समेत पर्वमा राखिने प्रचार प्रसार संयोजक बिजया ओझैयाले जानकारी दिनुभयो । 

तर यता जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता भिमकान्त पौडेलले सामान्य रुपमा भिडभाड नगरी पर्व मनाउने भए पनि कोरोना सङ्क्रमणपछि तोकिएको मापदण्ड २५ जनाभन्दा बढी भेला हुन नपाइने बताउनुभयो । 

कोरोना सङ्क्रमणको बेला भिडभाड हुने गरी माघी महोत्सव मनाउन प्रशासनले छुट नदिएको समेत प्रजिअ पौडेलले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button