साढे दश हजारले गराए आँखाको उपचार

सोलुखुम्बु । सोलुखुम्बुको फाप्लुमा सञ्चालित जिल्ला सामुदायिक आँखा केन्द्रबाट एक वर्षमा साढे दश हजार भन्दा बढीले आँखाको विभिन्न रोगको उपचार गराएका छन् । सन् २०२१ मा दश हजार सात सय ५२ जनाले आँखा जाँच तथा उपचार गराएको केन्द्रका प्रमुख पुष्पबाबु बस्नेतले जानकारी दिनुभयो ।
यस क्रममा जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुबाट चार हजार तीन सय जना, ग्रामीण आँखा केन्द्र मार्फत एक हजार ३९५ जना र सामुदायिक आँखा शिविरमार्फत चार हजार ५४७ जनाले सेवा लिएको कार्यालयको तथ्याङ्क रहेको छ । त्यस्तै, आँखा शिविरबाट एक हजार १०४ जनाले शल्यक्रिया र ५८२ जनाले स्वयंसेविकामार्फत सेवा लिएका छन् ।
यस अवधिमा जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा १२४ जनाको सामान्य शल्यक्रिया र आँखाको नानीबाट फोहोर निकालिएको छ भने फाप्लु, जाल्पा र खुन्देमा सञ्चालित शल्यक्रिया शिविरबाट २५६ जनाको मोतियाबिन्दु र अन्य छ जनाको गरी २६२ जनाको शल्यक्रिया गरिएको केन्द्रका प्रमुख बस्नेतले बताउनुभयो ।

त्यस्तै, विद्यालय आँखा जाँचबाट पनि धेरैले सेवा लिएका छन् । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले सोलुदूधकुण्ड नगरपालिकाभित्रका विद्यालयका ७२ जना शिक्षकहरूलाई आधारभूत आँखा उपचार तालिम र ८१ जना स्वयंसेविकाहरूलाई पुनर्ताजगी तालिम प्रदान गरिएको केन्द्रले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानमा आँखा शिविर सञ्चालन हुँदा अन्यत्र अस्पतालमा गएर उपचार गराउन नसकेका आर्थिक अवस्था कमजोर भएका वृद्ध वृद्धाहरूलाई ठूलो राहत पुगेको बताइएको छ । केन्द्र मार्फत गाउँ गाउँमा भएका शिविरहरूबाट दुई वर्ष भन्दा बढी समयसम्म दुवै आँखाको ज्योति गुमाएका धेरै सर्वसाधारणले पुनज्योति पाएका छन् ।







प्रतिक्रिया राख्नुहोस्