च्यारेचौरलाई मेडिकल हब बनाउन २३ वटा भवन निर्माण हुदैं

जुम्ला । जुम्ला चन्दननाथ नगरपालिका ३ स्थित च्यारेचौरलाई मेडिकल हबका रुपमा विकास गर्न पूर्वाधार निर्माण कार्य थालिएको छ । जुम्लामा मङ्सिर २६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले एमबिबिएस कार्यक्रमको शुभारम्भ गरेसँगै च्यारेचौरलाई मेडिकल हब बनाउने तयारी स्वरूप पूर्वाधार निर्माण काम थालिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्ला सदरमुकाम खलङ्गाबाट ६ किलोमिटर टाढा डाँफे लेखको तल च्यारेचौरमा एमबिबिएस अध्ययन र अध्यापनका लागि करिब दुई दर्जन भौतिक संरचना निर्माण गर्ने तयारी गरिएको छ ।
एमबिबिएस सञ्चालनका लागि झण्डै २३ वटा शैक्षिक तथा प्रशासनिक, आवास भवन निर्माण हुँदै छन् । कर्णाली प्रतिष्ठानका उपकुलपति डा.मङ्गल रावलले भन्नुभयो,“प्रतिष्ठानले एमबिबिएस शुरु गरेपछि मेडिकल हबको रुपमा अगाडि बढाउन २३ वटा भवन निर्माण गर्ने योजना अघि बढेको छ । च्यारेचौरलाई प्रतिष्ठानको दीर्घकालीन योजनाअनुसार मेडिकल हबको रुपमा विस्तार गरिने छ । एमबिबिएस लगायतका कार्यक्रमहरू सञ्चालन गर्न चन्दननाथ ३ का स्थानीय निःशुल्क जग्गा प्रदान गरेपछि मेडिकल हब बनाउने योजना शुरु भएको हो ।”

यद्यपि, २३ वटा भवन मध्य एक शैक्षिक भवन निर्माणको कार्य शुरु भएको प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले बताउनुभयो । उहाँका अनुसार भवन निर्माणको जिम्मा ३ सय शय्या कर्णाली प्रतिष्ठान अस्पताल बनाएको रसुवा कम्पनीलाई दिइएको छ ।
च्यारेचौरमा मेडिकल कलेज सञ्चालन भएपनि विश्वकै अग्लो स्थानमा मेडिकल शिक्षाको अध्ययन हुने भएकोले जुम्ला र च्यारे संसारकै रोल मोडेल मेडिकल हब बन्ने अपेक्षा गरिएको छ ।
रजिष्टार महतले भन्नुभयो,“च्यारे चौरमा रहेको पाँच सय रोपनी जग्गा कर्णाली प्रतिष्ठानलाई स्थानीयले दिने सहमति भएको र तीन सय रोपनी दर्ता भइसकेको छ । सो क्षेत्रमा २३ वटा शैक्षिक प्रशासनिक २३ वटा भवनहरू ठूलो निर्माण गर्ने योजना नेपाल सरकार समक्ष पेश गरिएको छ ।”
वर्षेनी बिरामी सङ्ख्या बढ्दै जाने र संरचना साँघुरो हुँदै गएकाले एमबिबिएस सहितका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न च्यारेमा ठूलो मात्रामा भौतिक संरचना निर्माण गर्न थालिएको प्रतिष्ठानले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्