मुख्यमन्त्री पाण्डेद्वारा मकवानपुर र सिन्धुली जोड्ने पुलको निरीक्षण
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मङ्गलवार प्रदेशको राजधानी मकवानपुर र सिन्धुली जोड्ने पुलको स्थलगत निरीक्षण गर्नुभएको छ ।
ठेक्का लागेको १० वर्षपछि माघदेखि सञ्चालनमा आउने बागमती पुल निर्माणबारे चासो लिँदै मुख्यमन्त्री पाण्डेले अनुगमन गर्नुभएको हो ।

निरीक्षणका क्रममा निर्माण कम्पनीले यातायात सञ्चालन भएको र हेटौँडा आउन सबैभन्दा छोटो दूरीको मार्ग जोडिएको जनाएको छ ।
निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका जयराम लामिछानेले पुलमा सामान्य यातायात सञ्चालन हुन सक्ने बताउनुभयो । उहाँले यातायात सञ्चालनमा समस्या नरहेको बताउँदै उहाँले पुलमा सामान्य कालोपत्रे र पुलसँगै केही ड्याक बनाउने काम चाँडै सकिने बताउनुभयो ।
पुलमा गाडी चल्न सक्ने भएपछि माघ १२ गते हेटौँडामा हुने राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशका दोलखा, रामेछाप र सिन्धुलीका जनप्रतिनिधि र प्रदेश सदस्यहरूले छोटो दूरीको बाटो हुँदै हेटौँडा आउन पाउने हुनुभएको छ ।
मदन भण्डारी राजमार्ग अन्तर्गत बागमती नदीमा पुल निर्माणको ठेक्का लागेको १० वर्ष ६ महिना पुगेको छ । निर्माण कम्पनीले तीन वर्षभित्र काम सक्ने गरी २०६८ असार २९ गते २० करोड ६२ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।
यसैबीच मुख्यमन्त्री पाण्डेले मकवानपुरको बागमती गाउँपालिकामा रहेको पार्टी कार्यालय निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा स्थानीयले बागमती गाउँपालिकामा २०३२ सालदेखि नापी भएर पनि जनताले पूर्जा पाउन नसकेको लगायत गाउँका समस्याबारे मुख्यमन्त्रीलाई अवगत गराउनुभएको थियो ।
त्यस क्रममा मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारबाट हुन सक्ने सहयोग गरिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्