अगुवा कम्युनिस्ट श्रेष्ठको सालिक अनावरण
मकवानपुर । मकवानपुरमा देशकै अगुवा कम्युनिस्ट भक्तबहादुर श्रेष्ठको अर्ध कदको सालिक अनावरण गरिएको छ ।
हेटौँडा–१८, हर्नामाडीस्थित गुम्बाडाँडा पार्कमा वामपन्थी नेता श्रेष्ठको सालिक मङ्गलवार अनावरण गरिएको हो ।
मङ्गलवार एक कार्यक्रमबिच हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र वडा अध्यक्ष अनिलकुमार बानियाँले सालिकको अनावरण गर्नुभएको हो ।

वि.सं. १९९० असोज ३ गते मकवानपुरको मकवानपुरगढीमा जन्मनुभएका श्रेष्ठको २०६८ पुस २७ गते निधन भएको थियो । श्रेष्ठको स्मृति दिवसको दिन पारेर आज सालिक अनावरण गरिएको हो ।
बागमती प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा श्रेष्ठको सालिक तयार पारिएको हो । गुम्बाडाँडास्थित श्यामप्रसाद शर्मा स्मृति पार्क परिसरमा श्रेष्ठको सालिक निर्माण गरिएको छ ।
दुई दशकभन्दा बढी समय भूमिगत जीवन बिताउनुभएका श्रेष्ठले २००७ सालदेखि मकवानपुरगढीमा स्वग्राम सुधार जनसङ्गठन परिषद् गठन गरेर गाउँको शोषण, अत्याचार र जातीय विभेदविरुद्धका काम अगाडि बढाउनुभएको थियो ।
सालिक अनावरण कार्यक्रममा स्वर्गीय श्रेष्ठका दुई छोरी, आफन्त र हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलको उपस्थिति थियो ।






प्रतिक्रिया राख्नुहोस्