नाकामा भारतबाट फर्कनेको लर्को : निर्माणाधीन होल्डिङ सेन्टर संचालनको तयारी

कपिलवस्तु । भारतमा कोरोना संक्रमण बढेपछि नेपाल फर्किनेको सङ्ख्या पुनः बढेको छ । अहिले दैनिक जसो कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गर्नेहरूको सख्यामा दोब्बरले वृद्धि भइरहेको छ । नेपाल प्रवेश गर्नेहरूको कोरोना परीक्षण समेत हुने गरेको छ । सोमवार साँझसम्म २७ जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य कर्मचारी पङ्कज गुप्ताले जानकारी दिनुभयो । गुप्ताका अनुसार पोजेटिभ भएको मानिसलाई होम आईसुलेशन बस्न सुझाव सल्लाह दिई घर पठाइएको छ । कोरोनाका कारण दैनिक जसो नेपालीहरू स्वदेश फर्कन थालेपछि नेपालका होटेल व्यवसायीले चर्को मूल्य लिन थालेको गुनासो आउन थालेको छ । कृष्णनगर आसपासका होटलले मौकाको फाइदा उठाउँदै पहिलेको तुलनामा दोब्बर रकम लिने गरेको नेपाल फर्किएकाहरू बताउँछन् ।

यता कृष्णनगरमा निर्माणाधीन रहेको होल्डिङ सेन्टरको काम अन्तिम चरणमा पुगेको छ । निर्माण भइरहेको उक्त होल्डिङ सेन्टरमा कोरोना सङ्क्रमणका समयमा भारतबाट प्रवेश गर्नेहरूलाई सुरक्षितरुपमा राखिने छ । कृष्णनगर नगरपालिका १ शिवानगरमा रहेको ४ सय बेडको होल्डिङ सेन्टर पुस भित्र सञ्चालनमा ल्याउने तयारी छ ।
भन्सार नाका नजिक ६ सय बेड क्षमताको होल्डिङ सेन्टरको काम तीव्र गतिमा भइरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताउनुभयो । गत असार ३ गतेबाट सुरु गरिएको निर्माणको काम ५ महिना भित्र सम्पन्न गर्ने भनिए पनि वर्षातका कारणले केही ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । अबको केहिदिन मै काम सम्पन्न भएपछि उक्त स्थानबाट सेवा सुचारु गर्ने सकिने कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले बताउनुभयो । उक्त होल्डिङ सेन्टर निर्माणको लागि रु २७ करोड ६७ लाख ८२ हजार ५ सय ३५ रुपैयाँमा श्री हनुमान कन्स्ट्रक्सन ललितपुरले जिम्मा लिई काम भइरहेको छ ।









प्रतिक्रिया राख्नुहोस्