तपाईँ सुन्दै हुनुहुन्छः

पृथ्वीनारायण शाहको एकीकरण अभियानबारे विचार गोष्ठी सम्पन्न

काठमाडौँ । तत्कालीन राजा पृथ्वीनारायण शाहले विभिन्न जातजाति र समुदायको साथ पाएर नै विशाल नेपाल एकीकरणको अभियान सफल पारेको सरोकारवालाहरूले बताएका छन् । 

नेपाल प्रज्ञा–प्रतिष्ठानले ३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका  अवसरमा ‘आज आयोजना गरेको पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता’ विषयक विचार–गोष्ठीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानलाई नयाँ पुस्ताले बिर्सन नहुने बताउनुभयो । 

मन्त्री आलेले दिव्य उपदेशमार्फत पृथ्वीनारायण शाहले दिनुभएको नीति र विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको भन्नुहुँदै भ्रष्टाचार निवारण, प्रशासन सुधार र निष्पक्ष शासन व्यवस्थाका लागि पृथ्वी नारायण शाहको उपदेश ग्रहण गर्न अप्ठेरो मान्न नहुनेमा जोड दिनुभयो । 

विचार गोष्ठीमा इतिहासविद् प्रा.डा.त्रिरत्न मानन्धरले पृथ्वीनारायण शाहले  विषय नगर्ची र कालु पाँडेसँगको भेटपछि मात्रै २२ से २४ से राज्य एकीकरणमा गर्नु आवश्यक ठानेको बताउनुभयो । 

प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले पृथ्वीनारायण शाहका साथमा विभिन्न जातजातिहरूको सहभागिता रहेको बताउनुभयो । 

कार्यक्रममा नेपाल ललितकला प्रतिष्ठानका कुलपति के के कर्माचार्य, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायन, सास्कृति संस्थाका अध्यक्ष प्रेमनाथ अधिकारी लगायतले पृथ्वीनारायण शाहको नेपाल एकीकरणमा महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । 

हरेक वर्ष पुस २७ गते राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाउने गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button