तपाईँ सुन्दै हुनुहुन्छः

सहकारीको थप विकासका लागि प्रदेश सरकार सहयोग गर्न तयार : मुख्यमन्त्री राउत

जनकपुरधाम ।  प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सहकारी संस्थाहरू निम्न वर्गको जनताको आर्थिक विकासका लागि काम गर्ने भएकाले सहकारीको थप विकासका लागि प्रदेश सरकार सहयोग गर्न तयार भएको बताउनुभएको छ । 

मुख्यमन्त्री राउतले नेशनल राष्ट्रिय सहकारी बैङ्क लिमिटेडको वार्षिक साधारण सभा २०७८ को आज जनकपुरधाममा उद्घाटन गर्दै किसानहरूको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि सहकारीहरू सक्रिय रहेकोमा खुसी व्यक्त गर्दै सहकारीमार्फत प्रदेश तथा देशलाई नै समृद्ध बनाउने भएकाले कामको प्रशंसा गर्नुभयो । 

उहाँले सहकारीमार्फत आम जनताको आर्थिक, सामाजिक अवस्थामा सुधार ल्याउन सक्ने भएकाले सहकारीको मूल्य र मान्यता अनुसार संस्थाहरूले कामकाज गर्न जरुरी रहेकोमा जोड दिनुभयो । 

मुख्यमन्त्री राउतले विगतका कोरोना कालमा किसानहरूलाई प्रदेश सरकारले राहत दिँदा सहकारी संस्थाहरूसँग किसानहरू जोडिएको महसुस गरेको बताउँदै यसले पनि सहकारीको महत्त्व दर्साएकाले यसै अधिवेशनबाट सहकारी सम्बन्धी प्रदेश सरकारले ऐन पारित गर्न लागेको बताउनुभयो । 

आम जनताको आर्थिक गतिविधि बढाउनु नै राज्य दायित्व भएकाले प्रदेश नंं २ का सरकारले सरकारीको विकासका लागि हालसम्म ठोस कामकाज नगरे पनि अब सहकारी ऐन ल्याएर काम गर्ने पक्षमा भएको बताउनुभयो ।

प्रदेश नंं २ का प्रदेशसभाका सदस्य शिबचन्द्र चौधरीले सहकारी संस्थाहरू जून प्रकारले विपन्न तथा गरिब जनताको जीवनस्तर माथि उकास्नका लागि काम गर्नुपर्नेमा गर्न नसकेको बताउँदै अब यसतर्फ लाग्नका लागि आग्रह गर्नुभयो ।  

नेशनल राष्ट्रिय सहकारी बैङ्क लिमिटेडका अध्यक्ष के बि उप्रेतीले सहकारीलाई शुद्ध बनाउनका लागि विभिन्न क्रियाकलापहरू बैङ्कले गरिरहेको बताउँदै हाल बैङ्कको कूल निक्षेप ६६ अर्ब, कर्जा ३५ अर्ब ब्यालेन्स सिट ७२ अर्ब रहेको बताउनुभयो । 

कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश नंं २ मा उत्कृष्ट काम गर्ने आइडिएल सहकारी संस्था राजविराज र हाम्रो कृषि सहकारी संस्था लिमिटेड सर्लाहीका सञ्चालकलाई सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नु भएको थियो । 

कार्यक्रममा जसपा नेपालका सहकारी विभागका जितेन्द्र यादव र जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले शुभकामना दिनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button