वीरगंजस्थित होल्डिङ्ग सेन्टरमा ४ सय बेड तयारी अवस्थामा

वीरगंज । वीरगंज रक्सौल सिमाना हुँदै आवतजावत गर्ने कोरोना सङ्क्रमितलाई राख्नका लागि वीरगंज भन्सार परिसर भित्र निर्माण गरिएको होल्डिङ्ग सेन्टरमा ४ सय बेड तयारी अवस्थामा रहेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र पर्साका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल सहितको टोलीले आज वीरगञ्ज भन्सार कार्यालय परिसर भित्र रहेको गोदाम याडमा नेपाली सेनाद्वारा निर्माण गरिएको १ हजार बेड क्षमताको होल्डिंग सेन्टरको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ ।
सो क्रममा प्रमुख जिल्ला अधिकारी ढकालसँगै पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का लगायतको उपस्थिति रहेको थियो ।

कोरोना संक्रमण समुदाय स्तरमा फैलिन थालेपछि नियन्त्रणको पूर्व तयारीको रुपमा होल्डिङ्ग सेन्टरको निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । अनुगमन टोलीले होल्डिङ्ग सेन्टरसँगै ईनर्वा नाकामा स्थापित हेल्थ डेस्कको अवस्थाका बारेमा समेत निरीक्षण गरेको थियो ।
अनुगमनको क्रममा सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले होल्डिंग सेन्टरमा १ हजार बेड क्षमतामध्ये हाल ४ सय बेड तयारी अवस्थामा रहेको बताउनुभयो ।
सिरियस केस भएका संक्रमितहरु आएमा होल्डिंग सेन्टरमा राख्ने र उनीहरूलाई खानासहितको आवश्यक सामानको व्यवस्था मिलाउन वीरगंज महानगरपालिका, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सहित सरोकारवाला अन्य सङ्घ संस्था जुटिरहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्