तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजका अस्पतालमा अक्सिजन अभाव हुन नदिन विशेष तयारी

वीरगंज । कोरोना संक्रमण समुदाय स्तरमा फैलिन थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र पर्साले बीरगंज तथा जिल्लास्थित अस्पतालमा अक्सिजनको अभाव हुन नदिन तथा प्रत्येक पालिकामा तयारी अवस्थामा संक्रमित बिरामी बोक्ने एम्बुलेन्स राख्न निर्देशन दिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र पर्साको आज आकस्मिक रुपमा सम्पन्न सर्वपक्षीय तथा सर्वदलीय बैठकमा नेपाल सरकारद्वारा सञ्चालित खोप अभियानलाई सबै स्थानीय तहहरूले प्रचारप्रसार गरी सफल पार्ने, सबै सरकारी, गैर सरकारी सङ्घ संस्थाले यसमा सहयोग पुर्‍याउने, जिल्लास्थित सबै स्थानीय तहले कोभिड हेल्थ डेस्क स्थापना गरी कोभिड–१९ को परिक्षण गर्ने, आवश्यकता अनुसार क्वारेनटाइन/आइसोलेसन सेन्टरहरू स्थापना गरी सञ्चालनमा ल्याउने निर्णय गरेको छ । 

पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा सम्पन्न बैठकले अस्पतालहरूमा अक्सिजनको अभाव हुन नदिन तथा अक्सिजनको प्रभावकारी वितरण गर्नको लागि समयमै ग्यास प्लान्टहरूको मर्मत सम्भार, सिलिण्डर सङ्कलन, उत्पादन र वितरणलाई व्यवस्थित गर्न जिल्लास्थित सबै अक्सिजन प्लान्ट उद्योगहरूलाई निर्देशन दिएको केन्द्रका प्रवक्ता एवं पर्साका सहायक जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले बीरगंजको ईनर्वा नाकामा स्थापित हेल्थ डेस्कलाई थप सुविधा सम्पन्न र व्यवस्थित बनाउने, चेकजाँच प्रक्रियालाई कडाइ गर्ने, वीरगंज उद्योग वाणिज्य सङ्घ, महानगरपालिका, स्वास्थ्य कार्यालयसँग समन्वय गरी पर्याप्त मात्रामा स्वास्थ्यकर्मी परिचालन गर्ने र सुरक्षा निकायहरूले आवश्यक सुरक्षा व्यवस्था मिलाई सीमा नाकामा चेक जाँच कार्यलाई कडाइ गर्ने निर्णय गरेको पौडेलले बताउनुभयो ।

त्यसैगरी, बैठकले ईनर्वा नाका बाहेक पर्सा जिल्लाको अन्य नाकामा समेत स्थापित हेल्थ डेस्कलाई सम्बन्धित स्थानीय तहले सशस्त्र प्रहरी बलसँग समन्वय गरी तत्काल सञ्चालन गर्ने निर्णय गरेको छ ।

नो मास्क नो सर्भिस डेलिभरी अभियान अन्तरगत “मास्क बिना सेवा प्रवाह बन्द“ अभियानलाई जिल्ला स्थिति सबै सरकारी, गैर सरकारी, बैङ्क तथा वित्तीय सङ्घ संस्थाले प्रभावकारी रुपमा आजैबाट लागु गर्ने निर्णय गरेको प्रवक्ता पौडेलले बताउनुभयो ।

साथै बैठकले एक हप्तासम्म मास्क लगाउन सचेतनामूलक सूचना प्रवाह गरी सबैमा अनुरोध गर्ने र सो पछि अवज्ञा गरेमा जरिवाना गर्ने/गराउने निर्णय समेत गरेको छ । 

कोभिड–१९ को तेस्रो लहरबाट बच्न/बचाउन सबै स्थानीय तहले कोरोना लक्षित योजना बनाई आवश्यक पर्ने पिपिई सेट, मास्क, सेनिटाईजर खरिद गर्नुका साथै सोको पूर्व तयारी तथा प्रतिकार्य बारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र पर्सालाई जानकारी दिने निर्णय समेत गरिएको छ । 

तत्काल वीरगंजमा छुट्टै कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय समेत बैठकले निर्णय गरेको छ । 

पर्सा जिल्ला भरिको लागि कोभिड–१९ संक्रमित बिरामीहरूको उपचारमा समन्वय र सहजीकरण गर्न सेन्ट्रल हेल्थ डेस्क स्थापना गर्ने निर्णय समेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button