तपाईँ सुन्दै हुनुहुन्छः

आसन्न निर्वाचनमा काँग्रेसकै बहुमतबाट प्रधानमन्त्री : महामन्त्री शर्मा

सुरुङ्गा (झापा)। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा नेपाली काँग्रेसले बहुमत प्राप्त गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस झापाले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा महामन्त्री शर्माले अबको निर्वाचनमा नेपाली काँग्रेसले बहुमत प्राप्त गर्ने र काँग्रेसले प्रधानमन्त्री पाउने दाबी गर्नुभयो।

काँग्रेसकै प्रधानमन्त्री बनाउँदा पाँच वर्ष प्रधानमन्त्री टिकाउन सकिएला कि नसकिएला भन्ने चिन्ता व्यक्त गरेका शर्माले ७० वर्षको लामो इतिहासमा अहिलेसम्म कोही पनि व्यक्ति पाँच वर्ष प्रधानमन्त्री पदमा टिक्न नसकेको बताउनुभयो । विगतमा भएका निर्वाचनको समीक्षा गर्दै महामन्त्री शर्माले भन्नुभयो, “एउटा निर्वाचन जित्ने र एउटा निर्वाचन हार्ने कर्म गरिरहेको काँग्रेसले देशको मुहार राम्रो ढङ्गले बदल्न सक्दैन तसर्थ यो बेला सङ्कल्प गर्नुपर्छ आगामी निर्वाचन हामीले जित्नै पर्छ ।”

नेपाली काँग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका कृष्णप्रसाद सिटौलाप्रति लक्षित गर्दै महामन्त्री शर्माले भन्नुभयो, “एकातर्फ कम्युनिष्ट आन्दोलनका नेता केपी शर्मा ओली उभिँदै गर्दा अर्कोतर्फ कृष्णप्रसाद सिटौला हुनुहुन्छ । अबको निर्वाचनमा उहाँलाई उच्च मनोबलका साथ जिताउनै पर्छ ।” नेपाली काँग्रेसलाई जित्ने मात्रै सोच छैन देश चलाउनुपर्ने दायित्व रहेको बताउँदै एक कार्यकाल मात्रै होइन अबका तीन कार्यकाल काँग्रेसलाई जिताएर मुलुकमा आमूल परिवर्तन ल्याउनुपर्ने बेला आएको शर्माको भनाइ छ ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकी, सरिता प्रसाईँ, सांसद महेन्द्राकुमारी लिम्बू, पार्टीका केन्द्रीय सदस्य सुशीला ढकाल, प्रदेश नं १ का सभापति उद्धव थापा, राष्ट्रियसभाका उम्मेदवार गोपालकुमार बस्नेत, काँग्रेसका पुराना नेता पूणानन्द शर्मा लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button