तपाईँ सुन्दै हुनुहुन्छः

उठाइयो जम्बो डाँडामा लुकिछिपी थुपारिएको फोहर, कारबाही गरिने

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका– ५ स्थित वाग्मती नदी किनारको जम्बो डाँडा क्षेत्रमा लुकिछिपी फालिएको फोहरको थुप्रो सफा गरिएको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ४१९औँ हप्तामा त्यस क्षेत्रमा सफा गरी नदी किनारमा थुपारिएको तीन गाडी फोहर व्यवस्थापन गरिएको हो । 

वाग्मती सुन्दरता सरकोर मञ्चको आयोजनामा भएको सफाइमा त्यस क्षेत्रका विभिन्न टोल सुधार समितिका पदाधिकारी एवं सदस्यलगायत स्थानीयवासीको सहभागिता थियो । जम्बो डाँडा क्षेत्रमा लुकिछिपी फालिएको फोहर यस पटकसमेत गरी मञ्चको नेतृत्वमा १२औँ पटक सफा गरिएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो । 

सफाइका क्रममा ९५ प्रतिशत कुहिने फोहर लुकिछिपी फालिएको भेटिएको थियो । पाँच प्रतिशत मात्र नकुहिने फोहर पाइएको जनाइएको छ । फोहरलाई घरमै वर्गीकरण गरे कौसीखेतीमा उपयोग गर्न सकिने भए पनि  चेतनाको अभावमा सडक र नदी किनारमा फालेर दुर्गन्धित बनाइएको छ । नदी किनारमा प्लाष्टिक बालेर वायु प्रदूषण बनाउने क्रम बढ्न थालेको छ । फोहर फाल्नेलाई समातेर कानूनी कारबाही गर्ने अधिकार नगरपालिका र प्रहरीलाई भए पनि अहिलेसम्म कार्यान्वयन नगर्दा सडक, नदी किनारलगायत सार्वजनिक स्थलमा फोहरको थुप्रो बढ्दै आएको छ । 

आजको सफाइपछि जम्बो डाँडा क्षेत्रमा वडाले सिसिटिभी क्यामेरा जडान गर्ने तयारी गरेको जानकारी पनि दिइएको छ । सिसीटिभीसँगै प्रहरी र नगर प्रहरीसमेत राखेर लुकिछिपी फोहर फाल्नेलाई समातेर कानूनी कारबाही गर्ने तयारी गरिएको पनि त्यहाँका वडाध्यक्ष नारायण बहादुर सुवेदीले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button