प्रदेश नं २ मा कोरोनाको ग्राफ उकालो लाग्दै जाँदा खोप लगाउने दर बढ्न सकेन

जनकपुर । छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश नं २ का जिल्लाहरूमा पनि देखिन थालेको छ ।
गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश नं २ मा स्थिर देखिएको कोरोना भाइरस सङ्क्रमणको ग्राफ बिस्तारै बढ्दै जाँदा जोखिम बढेको छ । यो प्रदेशको विभिन्न जिल्लामा पछिल्लो दुई दिनको अवधिमा ९९ को गरिएको स्वाब परीक्षणमा १६ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश नं २ को प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाले जनाएको छ ।
गत बिहीबार ६८ को स्वाब परीक्षण गर्दा नौ र शुक्रवार ३१ को स्वाब परीक्षण गर्दा सात जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो पटक दुई दिनमा धनुषामा पाँच, सिरहा र महोत्तरीमा चार/चार, सप्तरी, सर्लाही र पर्सामा एक÷एक गरी १६ जनामा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको प्रदेश नं २ को प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिनुभयो । योसँगै प्रदेशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ पुगेको छ । सङ्क्रमितहरू सबै होम आइसोलेसन रहेका छन् ।
“मङ्सिरको अन्तिम सातासम्म कोरोना सङ्क्रमण दर स्थिर थियो”, निर्देशक झाले भन्नुभयो, “तर पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ, यो खतराको सङ्केत हो ।” अब पनि हेलचेक्र्याइँ गरिए स्थिति बिग्रिन सक्ने उहाँको भनाइ थियो । कोरोना सङ्क्रमणको ग्राफ बढ्दै गए पनि प्रदेश नं २ मा कोभिड–१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या भने निराशाजनक देखिएको छ ।
सरकारले २०७८ पुस मसान्तभित्र ६६ प्रतिशत नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने लक्ष्य लिएकामा पुसको अन्तिम साता बित्नै लाग्दा प्रदेश नं २ मा ३८ प्रतिशतले मात्र खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशक झाका अनुसार पुस महिना बित्नै लाग्दा यो प्रदेशमा पूर्ण डोज लगाउनेको सङ्ख्या ३८ प्रतिशत मात्र छन् भने एक डोज मात्र लगाउनेको सङ्ख्या करिब ५० प्रतिशत छ । सर्लाहीमा ४६ प्रतिशत, धनुषा, सप्तरी, बारा र पर्सामा ३८, सिरहामा ३७, रौतहटमा ३५ र महोत्तरीमा ३२ प्रतिशतले मात्र पूर्ण डोज खोप लगाएको निर्देशक झाले जानकारी दिनुभयो । उहाँका अनुसार एक मात्र डोज खोप लगाउने सङ्ख्या सर्लाहीमा ६८, बारामा ६४, सिरहा र महोत्तरीमा ६२, धनुषामा ५४, पर्सामा ५१, सप्तरीमा ५० र रौतहटमा ३९ प्रतिशत रहेको छ ।
पुस महिनाभित्र ६६ प्रतिशतलाई खोप लगाइसक्ने सरकारको लक्ष्य पूरा गर्न दैनिक एक लाख २९ हजार ३४२ जनालाई खोप लगाउनुपर्नेमा अहिले यो प्रदेशमा दैनिक २२ हजार ३४६ जनालाई मात्र खोप लगाइरहेको निर्देशक झाले जानकारी दिनुभयो । “यसरी यही गतिमा खोप अघि बढिरहे कोरोनाको तेस्रो लहर आउँदासम्म ५० प्रतिशतलाई पनि खोप लगाउन सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “त्यही भएर हामीले खोप लगाउने कार्यलाई गति दिनुस् भनेर जिल्ला स्वास्थ्य तथा नगरपालिका र गाउँपालिकाका प्रमुखहरूलाई भन्यौँ, तर जुन ढङ्गबाट गति लिनुपर्ने थियो, त्यो हुन सकेको छैन ।” स्थानीय तहका जनप्रतिनिधिहरूले जसरी गम्भीरतापूर्वक लिनुपर्ने थियो त्यो नलिएका कारण खोप लगाउनेको सङ्ख्या नबढेको निर्देशक झाको भनाइ छ ।
यसअघिका कोरोना भाइरस सङ्क्रमणमा अन्य प्रदेशजस्तै यो प्रदेशले पनि ठुलै धनजनको क्षति व्यहोर्नु परेको छ । कोरोना भाइरस सङ्क्रमण सुरु भएयता हालसम्म प्रदेश नं २ मा एक हजार ४० जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म यो प्रदेशमा दुई लाख २३ हजार २१३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा ३८ हजार ६७९ जना सङ्क्रमित भएका छन् । त्यसमध्ये ३७ हजार ५६९ निको भएर घर फर्किसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
छिमेकी मुलुक भारतमा तेस्रो लहरको कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिरहँदा माघको दोस्रो साताबाट नेपालमा पनि तेस्रो लहर फैलिन सक्ने विज्ञहरू चेतावनी दिइरहेका छन् । त्यसैले सम्भावित तेस्रो लहरबाट प्रदेशका नागरिकलाई जोगाउने तयारीमा प्रदेश सरकार जुटेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न खोपलाई प्राथमिकता दिनुपर्ने र कोरोना फैलिन नदिन स्वास्थ्य सतर्कता अपनाउनुपर्ने सोचका साथ प्रदेश सरकार अघि बढेको प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवकिशोर साहले बताउनुभयो ।
“खोप लगाउनेको सङ्ख्या निराशाजनक देखिएको छ”, उहाँले भन्नुभयो, “त्यही भएर जिल्लाका स्वास्थ्य कार्यालय प्रमुखहरू तत्काल खोप लगाउने कार्यलाई गति दिनुस् भने निर्देशन दिएका छौँ ।” केही दिनअघि मात्र मुख्यमन्त्रीको उपस्थितिमा बसेको प्रदेश सरकारका मन्त्रीहरू, आठ वटै जिल्लाका प्रजिअ, जिल्ला स्वास्थ्य प्रमुखको बैठकमा पनि तत्काल खोप लगाउने कामलाई अघि बढाउने निर्णयसमेत भएको मन्त्री साहको भनाइ छ । यसबाहेक कोरोनाको तेस्रो लहर आउन सक्ने जोखिमलाई दृष्टिगत गरी आठ वटै जिल्लामा स्वास्थ्य सतर्कता बढाएको बताएको छ । प्रदेश २ का जिल्लाहरू भारतीय सीमासँगै जोडिएकाले सीमा नाकाहरूमा हेल्थ डेस्क स्थापना गरी एन्टीजेन विधिबाट स्वास्थ्य जाँच गर्न निगरानी बढाइएको मन्त्री साहले बताउनुभयो ।
“प्रदेशभरिका सबै अस्पताललाई औषधिसहित अक्सिजनलगायत स्वास्थ्य सामग्रीहरु तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ,” मन्त्री साहले भन्नुभयो, “सम्भावित तेस्रो लहर आउन नदिन अपनाउनुपर्ने सतर्कताबारे प्रजिअ र स्थानीय तहका जनप्रतिनिधिहरूसँग नियमित समन्वय भइरहेको छ ।” यसबाहेक कोरोना सङ्क्रमण रोकथामबारे विभिन्न माध्यमबाट प्रचारप्रसारसमेत गर्दै आएको मन्त्री साहको भनाइ छ ।
पहिलो र दोस्रो लहरको सङ्क्रमणका बेला प्रदेश नं २ मा देखिएको शय्या र अक्सिजनको समस्या अब हुन नदिने तयारी भएको प्रदेश सरकारको भनाइ छ । “प्रदेश नं २ का आठवटा जिल्लामध्ये पाँच जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट जडान भइसकेको छ,” मन्त्री साहले भन्नुभयो, “बारा, रौतहट र सर्लाहीमा पनि अक्सिजन प्लान्ट जडानको प्रक्रिया अघि बढेको छ, त्यहाँ पनि छिट्टै जडान हुन्छ ।” त्यसैले अब प्रदेशमा अक्सिजनको समस्या हुँदैन, उहाँको विश्वास छ ।
यो प्रदेशका १५ वटा अस्पतालमा ३४६ आइसोलेसन शय्या, १९२ एडियू शय्या, ९१ आइसियु शय्या, ६३ भेन्टिलेटर छन् भने एक हजार ९६५ अक्सिजन सिलिन्डर मौज्दात रहेको प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ । यस्तै, प्रदेशभरि १२ वटा पिसिआर परीक्षण मेसिनबाट कोभिड–१९ जाँच हुँदै आएको जनाएको छ । भारतीय सीमानाकाबाट सङ्क्रमितलाई नेपाल प्रवेश गर्न नदिन प्रदेश नं २ का विभिन्न जिल्लास्थित सीमानाकाहरुमा हेल्थ डेस्क स्थापना भएको छ ।
महोत्तरीको जलेश्वर भिठ्ठामोड, पर्साको वीरगञ्ज, रौतहटको गौर, सिरहाको माडर र औरहीस्थित नाकाहरूमा हेल्थ डेस्क स्थापना गरी भारतबाट आउनेहरूको स्वास्थ्य परीक्षण सुरु गरिसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेश सरकार विगतको भन्दा अहिले कोरोना सङ्क्रमण रोकथामका लागि बढी सक्रिय देखिएकाले अघिल्लो कोरोनाकालको जस्तो सम्भावित तेस्रो लहरमा पीडा भोग्नु नपर्ने प्रदेशवासीहरूको विश्वास छ । “अघिल्लो दुई कोरोनाकालमा प्रदेश र स्थानीय सरकार जति सक्रिय हुनुपर्ने थियो, त्यति नभएकाले प्रदेश नं २ कोरोनाको हटस्पट बन्यो,” जनकपुरधाम नगरपालिका–१७ का समीर महतोले भन्नुभयो, “त्यसैले सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले तयारी गर्नु आवश्यक छ ।” पहिलादेखि नै सर्वसाधारणसमेत सचेत भइसकेकाले पनि खासै ठूलो क्षति नहुने उहाँको भनाइ छ । यद्यपि स्वास्थ्य मापदण्डको पालना गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । रासस







प्रतिक्रिया राख्नुहोस्