तपाईँ सुन्दै हुनुहुन्छः

सङ्ग्रहालय परिसरमा बनाउँदै गरेका संरचना भत्काउन सुरु

काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्टका लागि निर्माण गरिन लागेका संरचना भत्काउन सुरु गरिएको छ ।

रेस्टुरेन्टका लागि बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजदेखि अधिकांश संरचना भत्काइएको छ भने केही भत्काउने तयारीमा रहेका छन् ।

क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बतास समूहले संरचना बनाउन थालेपछि चौतर्फी विरोध सुरु भएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाको छानबिनका लागि एक छानबिन समिति गठन भएको छ ।

समितिले आजदेखि आफ्नो काम सुरु गरेको उक्त समितिका सदस्य तथा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

समितिले ती विवादित संरचना भत्काउनका लागि १२ जना कामदार खटाएको जनाएको छ । समितिले सङ्ग्रहालयको १० रोपनी जमिनमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button