तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ मा धानको उत्पादनमा कमी

जनकपुरधाम । धानको उत्पादनको दृष्टिकोणले प्रदेश नं २ अग्रणी भए पनि यस वर्ष धान उत्पादनमा ह्रास आएको छ ।

कात्तिकमा भएको बेमौसमी वर्षा कारण प्रदेशका जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ह्रास आएको प्रदेश नं २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

प्रदेशमा यस वर्ष तीन लाख ७६ हजार ४ सय ३४ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर ३.५१ मेट्रिक टनका दरले १३ लाख १९ हजार ८ सय ६ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयका सूचना अधिकारी मनिषकुमार पालले जानकारी दिनुभयो ।

२०७७/७८ मा तीन लाख ४५ हजार ६ सय ३ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ६५ मेट्रिक टनका दरले १२ लाख ६२ हजार २ सय मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्षमा बारा र पर्सामा धान उत्पादन बढे पनि बाँकी रहेका ६ जिल्लामा धान उत्पादन घटेको सूचना अधिकारी पालले जानकारी दिनुभयो ।

यस वर्ष पर्सामा ३५ हजार २० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ४. ८० मेट्रिक टनका दरले एक लाख ६८ हजार ९६ मेट्रिक टन धान उत्पादन भएको छ भने बारामा ४६ हजार २० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ४. १९ प्रतिशतका दरले एक लाख ९२ हजार ७६८ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जानकारी दिएको छ ।

गत आव २०७७/७८ मा पर्सामा ३९ हजार ४ सय ६३ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव पाँच मेट्रिक टनका दरले एक लाख ५९ हजार ८ सय २५ मेट्रिक टन धान उत्पादन भएको थियो भने बारामा ४० हजार १ सय २५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ३३ मेट्रिक टनका दरले एक लाख ३३ हजार ६ सय १६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रदेश नंं २ को पर्सा, बारा बाहेक धनुषा, महोत्तरी, सर्लाही, रौतहट, सिराहा र सप्तरीमा धानको उत्पादन घटेको छ ।

धनुषामा यस वर्ष ५३ हजार ४ सय हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.२० का दरले एक लाख ७० हजार ८ सय ८० मेट्रिक टन, महोत्तरीमा ४५ हजार ५ सय हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.६३ मेट्रिक टनका दरले एक लाख ६५ हजार २ सय मेट्रिक टन, सर्लाहीमा ४४ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.३० प्रतिशतका दरले एक लाख ४५ हजार २ सय मेट्रिक टन र रौतहटमा ३७ हजार ७ सय ७५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर दुई दशमलव ९६ मेट्रिक टनका दरले एक लाख ११ हजार ७ सय ४० मेट्रिक टन धान उत्पादन भएको जनाइएको छ ।

यस्तै यस वर्ष सिराहामा ५७ हजार ६ सय ९० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.४० मेट्रिक टनका दरले एक लाख ९६ हजार १ सय ४६ मेट्रिक टन र सप्तरीमा ५७ हजार ५४ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर २.९८ मेट्रिक टनका दरले एक लाख ६९ हजार ७ सय ७६ मेट्रिक टन धान उत्पादन भएको सूचना अधिकारी पालले जानकारी दिनुभएको छ ।

धान खेतीको समयमा वर्षा भएको र ग्वारो किराको प्रकोप रहेका कारणले यस वर्ष धान उत्पादन दर बढ्ने अनुमान गरिए पनि धान काट्ने बेला भएको बेमौसमी वर्षाले ठूलो क्षति पुर्‍याएका कारण धान उत्पादनमा कमी आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

यसका साथै यस वर्ष किसानलाई समयमा युरिया मल पनि उपलब्ध नभएका कारणले घानको उत्पादनमा कमी आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धनुषाका प्रमुख युगल किशोर तिवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button