महाकाली अस्पतालमा ३७ जना कोरोना संक्रमित भर्ना, आइतबारबाट ओमिक्रोन परीक्षण गरिने

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा आज शुक्रवार थप ३० जना कोरोना संक्रमित भर्ना भएका छन् । यो सँगै अस्पतालको आइसोलेसनमा भर्ना हुने बिरामीको सङ्ख्या ३७ पुगेको छ ।
अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाका अनुसार बिहीबार अस्पतालको आइसोलेसनमा ७ जना संक्रमित थिए । शुक्रवार ३० जना नयाँ संक्रमित थपिएका हुन् । उनीहरू सबै गड्डाचौकी नाकामा एन्टिजेन परीक्षणबाट संक्रमित देखिएका हुन् । बिहीबार अस्पतालबाट ३६ जना होम आइसोलेसनमा बस्ने गरी घर गएको उहाँले बताउनु भएको छ ।
अस्पतालमा एक सातायता सङ्क्रमितको सङ्ख्या बढ्दै गएको हो । भारतबाट घर फर्किने नेपालीहरूमा संक्रमित देखिएपछि उनीहरूलाई सोझै अस्पताल भर्ना गरिन्छ ।
महाकाली प्रादेशिक अस्पतालमै अर्को साताबाट ओमिक्रोन परीक्षण गरिनेछ । डा. रोकायाका अनुसार आइतबारबाट ओमिक्रोन परीक्षण गरिनेछ । नेपालमा काठमाडौँ बाहिर ओमिक्रोन परीक्षण हुँदैन ।








प्रतिक्रिया राख्नुहोस्